प्रयोग शास्त्रीयताप्रतिको विद्रोह हो । विद्रोहले मात्र चाहिँ प्रयोगको बान्की पुग्दैन । खासमा कुनै विधा, विषय, निर्माण, सिर्जना आदिको शास्त्रीयता भन्दा फरक र नयाँ प्रयोगको सिर्जनधर्मिता प्रयोगवाद हो । यहाँ नेपाली साहित्यपरम्परामा देखिएका केही प्रयोगशील उपन्यासकार र उनका फरक नेपाली उपन्यासहरूका आधारमा सामान्य प्रयोगको प्रभाव र प्रयोगशीलताको आधार पहिल्याउने प्रयत्न गरिएको छ ।
नेपाली उपन्यास परम्परामा २०२१ सालपछि केही नवीन र अर्थपूर्ण प्रयोग भएको र २०३५ सालपछि यस्तो लेखन सशक्त हुँदै गएको देखिन्छ । उपन्यास विधाका केन्द्रियतामा हेर्दा परम्परा भन्दा भिन्न प्रकारका विषय र शिल्पको प्रयोग गरिएको उपन्यास प्रयोगपरक उपन्यास हो । यो अवस्था अन्य विधामा पनि हुन्छ । कविता, नाट्य र निबन्ध विधामा पनि यस किसिमको प्रयोगपरक सिर्जन धर्मिता निरन्तर स्थापित भइरहेको छ । उपन्यास विधाका केन्द्रीयतामा हेर्दा यस किसिमका उपन्यासहरूमा जीवनप्रतिको नवीन सोच र विद्रोही स्वरको चित्रण गरिएको हुन्छ । त्यसका लागि चित्रात्मक, बिम्बात्मक भाषाको प्रयोग भएको देखिन्छ । परम्परा भन्दा कलात्मक भाषाको प्रयोगका साथै विद्रोहात्मक भाषिक प्रयोग भएको देखिन्छ । चेतनप्रवाहको प्रयोग, दुरूह र दुर्बोध्य भाषाशैलीको प्रयोगलाई महत्त्व दिएको भेटिन्छ । प्रायः नवीन नवीन एवम् इतिहास र पुराणका गर्भमा लुकेका विम्ब, प्रतीक र मिथकको प्रयोग प्रयत्न देखिन्छ । स्वैरकल्पनाको अधिकतर प्रयोग, दृष्टिविन्दुको स्थानान्तरण, पाठभित्रै लेखक र पाठकको उपस्थिति, विधा मिश्रण, विधा भञ्जन जस्ता प्रयोगहरू उपन्यासको प्रयोगशील लेखनका रणनीति बनिरहेका छन् ।
नेपाली उपन्यास परम्परामा अस्तित्ववादी, विसङ्गतिवादी, प्रतीकवादी, विम्बवादी, अतियथार्थवादी, विनिर्माणवादी प्रवृत्तिका उपन्यासहरूको जन्म र विकास प्रयोगका नाममा भएको इतिहास छ । परम्परा भन्दा भिन्न विषय र शिल्पको अन्वेषण गर्दै नयाँ इतिहासको परम्परा आरम्भ गर्ने उपन्यासकारहरू यस कित्तामा पर्दछन् । इन्द्रबहादुर राईलाई प्रयोगका आरम्भकर्ता मानिन्छ । उनको आज रमिता छ (२०२१) देखि प्रयोगपरक लेखन आरम्भ भएको कुरा धेरै उपन्यासशास्त्री स्वीकार गर्दछन् । यो उपन्यास संरचना र स्वरका दृष्टिले पनि नवीन छ । सामाजिक राजनीतिक परिवेशका कारण मानवीय मूल्यको ह्रास हुँदै गएपछिको विसङ्गतिपूर्ण बचाइको चित्रण र त्यस परिस्थितिमा पनि अस्तित्वको खोजी गर्ने सन्दर्भमा यस प्रकारको प्रयोग हुन थालेको हो । प्रयोगवाद स्वरमा भन्दा पनि विधाको संरचनात्मक प्रयोगमा झल्कने प्रभाव हो । कहिलेकाहीँ यो कुनै विधा र विषयका लागि खतरा पनि हुन्छ । कवितामा प्रयोगका नाममा अकविता विकास भएको पक्ष स्मरणीय छ । प्रयोगका नाममा कविताले पूरै कविताकै, आख्यानले आख्यानकै धर्म चाहिँ छोड्नु हुँदैन । यस्तो अन्य कला र वास्तुकलामा पनि हुनु हुँदैन । भेडो भेडै जस्तो हुनुपर्छ तर आलुको भेडो हुनुहुँदैन ।
उपन्यासकै मात्र कुरा गर्दा सामान्यतया परम्परागत औपन्यासिक लेखनका मूल्य मान्यतालाई अस्वीकार गरी नवीन शिल्पको खोजी गर्ने उपन्यास प्रयोगवादी उपन्यास हो । इन्द्रबहादुर राईको सिर्जन परम्परामा ध्रुवचन्द्र गौतमको अन्त्यपछि (२०२४) महत्त्वपूर्ण प्रयोगशील कृतिका रूपमा देखियो । उपन्यासमा चाहिने कथा, घटना, वा चरित्रको संयोजनमा निर्मित नभएर यीविना पनि उपन्यास लेखिन सक्छ भन्ने उदाहरणका रूपमा यो एउटा उदाहरण हो । उपन्यासको रचनाविधानमा नबाँधिएको यस उपन्यासमा एकोहोरो कथ्यको प्रस्तुति छ । यसमा मससामयिक यथार्थको चित्रण अमूर्त प्रतीकात्मक संज्ञाहरूद्वारा औपन्यासीकरण गरिएको छ । वास्तवमा उपन्यासका शास्त्रीय संरचना र तत्त्वहरू यसमा छँदै छैनन् भने पनि हुन्छ । मञ्जुलको छेकुडोल्मा (२०२६) अर्को यस्तै उपन्यास हो । यसमा परम्परागत औपन्यासिक लेखनका मान्यतालाई भत्काई नवीन प्रयोगपरक कथानक र चरित्रलाई काव्यात्मक शैलीमा प्रस्तुत गरिएको छ । यसमा केन्द्रीय चरित्र छेकुडोल्मा रहेकी छ । वास्तविक व्यक्ति साहित्यकार पारिजातलाई छेकुडोल्माका रूपमा प्रस्तुत गरिएको छ तर उपन्यासभित्र प्रमुख पात्रको प्रत्यक्ष उपस्थिति भने रहेको छैन । समाख्याताको एकोहोरो कथनमा नै यसका विषय र चरित्र आएका छन् । यसको प्रत्येक खण्डमा भिन्नाभिन्नै समाख्याता वा कथा वाचक रहेका छन् । छेकुडोल्माबारे अलग अलग समाख्याताको विभिन्न दृष्टिकोणहरू नै यसको कथ्य विषय रहेको छ । यसमा कथानक संरचना पनि विचलित छ ।
उपन्यास परम्परामा जगदीश घिमिरेको साविती (२०३२) उपन्यास कथाहीन कथात्मकता रहेको छ । ओकिउयामा ग्वाइनको सुनाखरी (सन् १९७८) उपन्यासमा पनि प्रयोगपरक नवीन शैलीको प्रयोग छ । यसमा काव्यात्मक प्रस्तुति रहेको छ र पछिल्लो समयमा यस्तो प्रयोग निरन्तरित हुँदै आएको छ । पिटर जे. कार्थकको प्रत्येक ठाउँ, प्रत्येक मान्छे (२०३४) उपन्यास अर्को नवीन औपन्यासिक शैलीको प्रयोग भएको कृति हो । यसमा सात दिनको समयावधि, सात बारको सात परिच्छेद, घटना केन्द्रित सात प्रमुख पात्र र यिनीहरूको नामकरणमा सङ्गीतका सात स्वरको संयोजन गरिएको छ ।
उपन्यासको प्रयोगशील लेखन परम्परामा ध्रुवचन्द्र गौतम उल्लेख्य प्रतिभा बनेर देखिन्छन् । उनी एकपछि अर्को कृति लिएर यस परम्परामा छलाङ मारिरहेका कुन्छन् । उनको अलिखित (२०४०) उपन्यासमा पनि नवीन शिल्पको प्रयोग, बहुनायकत्व, आत्मसंस्मरण, स्वैरकल्पना, प्रतीकात्मकता लेखककै उपन्यासभित्र उपस्थिति प्रयोगशील पक्ष हुन् । नयनराज पाण्डेको विक्रमादित्य एउटा कथा सुन (२०४५) उपन्यासमा स्वस्थानी व्रतकथाको मिथकलाई विमिथकीकरण गरी पुनर्लेखन गरिएको छ । यसमा फोटो खिचेझैं शैलीमा विविध कथाहरू जोड्ने प्रयत्न भएको छ ।
नेपाली महाकाव्यले आफूलाई प्रयोगका स्वरूपमा ढाल्न नसक्ता उचि चर्चा हुन सकेन । उपन्यासमा भने एकपछि अर्को प्रयोग भइरहे । कविताराम श्रेष्ठको बकपत्र (२०४६) मा पनि औपन्यासिक परम्परा छैन । यसमा ठोस चरित्र, घटना, कथा आदि छैन । पात्र जस्ता जिउँदा जाग्दा पात्राहरू पनि छैनन् । जुगुप्साजन्य मान्छेको पीडालाई नै पात्रहरूको प्रतीकात्मक उपस्थितिबाट तिनको विम्बीकरण गरिएको छ । दुर्घटित अनुभूत गराउने अस्वीकृत जीवन नै कथाका रूपमा रचिएको छ । पुन धु्रवचन्द्र गौतम नै यस परम्परालाई अगाडि बढाउँछन् । उनको उपसंहार अर्थात् चौथो अन्त्य (२०४८) उपन्यासमा वैकल्पिक अन्त्यहरू प्रस्तुत गरी पाठकलाई छनोट गर्ने मौका दिँदै यसका माध्यमबाट यसमा पाठकलाई उपन्यास सिर्जन प्रक्रियामा सक्रिय बनाउने प्रयत्न गर्छन् । यसै क्रममा सरूभक्तको पागलबस्ती (२०४८) उपन्यासमा स्वैरकल्पना र नवीन मिथकको अद्भूत प्रयोग गरिएको छ । यस प्रकार नेपाली उपन्यासमा अस्तित्ववादी–विसङ्गतिवादी चेतना र अउपन्यास लेखनशैलीको प्रभावका कारण नवीन शिल्पको प्रयोग गरिएको छ ।
यहाँ उल्लेख भएका र नभएका अरू पनि ध्रुवचन्द्र गौतमका उपन्यासहरूमा उत्तरआधुनिकतावादका बहुलवादी र अनिश्चिततावादी प्रवृत्तिको सङ्केत पाइन्छ । नयनराजपाण्डेको उपन्यासले मिथकको पुनर्लेखनका माध्यमबाट उत्तरआधुनिकतावादलाई थप सङ्केत गरेको छ यो समय नेपाली उपन्यास परम्परामा उर्वर समयका रूपमा देखिन्छ । यस प्रयोगको प्रभाव नेपाली कथा, नाटक र अन्य विधामा पनि विकास भएको छ । कविता विधा समसामयिकतातर्फ फर्किइसक्ता उपन्यास भने निरन्तर प्रयोगकै बाटो अगाडि बढेर उत्तराधुनिधतातर्फ थप प्रयोगसहित प्रवेश गरेको देखिन्छ । अलि सूक्ष्म दृष्टिले हेर्दा प्रयोगपरक उपन्यासहरूको पृष्ठभूमिमा नेपाली उपन्यासमा २०५० सालपछि उत्तरआधुकितावादको प्रवेश भएको भन्नु उपयुक्त हुन्छ । तर यसले वैचारिक र दार्शनिक धरातल भने कमजोर बनाउँदै ससाना अवधारणा र विचारहरूलाई समेटिरहेको बोध हुन्छ ।
यहाँ नेपाली उपन्यासका केही प्रमाणबाट भन्न चाहिँ प्रयोगवाद के हो भन्न खोजिएको हो । प्रयोगवाद शास्त्रीयताबाट मुक्ति हो । यो परम्पराबाट मुक्ति हो । यसको सम्बन्ध शास्त्रीयतासँग, शास्त्रीय संरचना र परम्परासँग निकट हुन्छ । प्रयोगका नामममा एकोहोरो प्रयोग दुर्घटित पनि हुन सक्छ तर शास्त्रीयता बोधसहितको प्रयोग आकर्षक र प्रिय पनि हुन्छ । शास्त्रीय सङ्गीत जानेको सङ्गीतकारले नै प्रयोगशील सङ्गीत गर्न सक्छ, शास्त्रीय वस्त्र डिजाइनरले नै फेसनका वस्त्र डिजायन गर्न सक्छ । यो पक्ष साहित्यिक सिर्जनामा पनि लागू हुन्छ । यहाँ उदाहरणका रूपमा लिएका सबै प्रतिभाहरू शास्त्रीयता बुझेका विशिष्ट प्रतिभा हुन् । प्रायः सबैसाहित्यशास्त्रमै स्नातक र स्नातकोत्तर तहको उच्च शिक्षा लिएका छन् । गौतम त साहित्यशास्त्रकै विद्यावारिधि पनि हुन् । उनीहरूको त्यही सुझबुझले प्रयोगशील उपन्यास स्थापित बनेको छ । यो पक्षलाई अन्य विधाका स्रष्टाले पनि गम्भीरतासाथ लिन र आफ्ना रचनामा प्रयोग गर्न आवश्यक छ ।
-डा. रमेश शुभेच्छु