चन्द्रप्रसाद न्यौपाने विशेषत नेपाली साहित्यका कविता विधाका सिद्धहस्त प्रतिभा हुन् । उनले फुटकर कवितादेखि विभिन्न महाकाव्य रचना गरेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको तेरी आमा कहाँ गई ?’ शीर्षकको लघुकथा समेटिएको छ । यस लघुकथाले बालमजदुर र अपाङ्गहरूलाई हेर्ने समाज र सञ्चार क्षेत्रको कमजोर दृष्टिकोणप्रति व्यङ्ग्य गरिएको छ । -सम्पा. |
एउटी बहिरी बालिका होटलमा काम गर्दै थिइन् ।
होटलवाला भन्ने गर्यो- ‘‘ए फुच्ची गिलास सफा गरेर चाँडो पानी भर् ! टेबुल सफा गर् !’’ जसले जे भने पनि ती बालिका एउटै मात्र वाक्य सुन्थिन् : ‘छिटो छिटो काम गर् !’ उनको मुखबाट एउटै मात्र वाक्य निस्कन्थ्यो : ‘हुन्छ, हुन्छ गर्छु !’
एकदिनको कुरा हो । एक जना बालसरोकारसम्बन्धी समाचार लेख्ने पत्रकार बालिकासित अन्तरवार्ता लिन पुग्यो र बालिकासँग कुराकानी गर्न थाल्यो ।
पत्रकार : ‘ए नानी, तिम्रो घर कहाँ हो ?’
बालिका : ‘हुन्छ, हुन्छ गर्छु !’
पत्रकार : ‘नानी तिम्रा बा कहाँ बस्नुहुन्छ ?’
बालिकाबाट जवाफ उस्तै आउँछ : ‘हुन्छ, हुन्छ गर्छु !’
जवाफ नपाएर अलपत्र परेको पत्रकार अझ चर्को स्वरमा झर्किँदै बोल्छ : ‘ओ फुच्ची तेरो घर कता पर्छ भन्या ?’
उसै गरी उत्तर आउँछ : ‘यही ।’
पत्रकारको अझ चर्को स्वर सुनिन्छ : ‘तेरा बा नि ?’
बालिका केही सम्झे झैँ गरी जवाफ दिन्छिन् : ‘मर्नुभयो ।’
पत्रकार सोध्दै जान्छ : ‘आमा कहाँ छिन् नि ?’
यतिखेर बालिका अघिको भन्दा अँध्यारो मुख लगाएर भन्छिन् : ‘पोइल !’
होटवालाका ग्राहकहरू मरिमरी हाँस्न थाले– हा.. हा.. हा.. !
पत्रकारको पश्न टुङ्गिएकै थिएन : ‘ओ फुच्ची तेरी आमा पोइल कहाँ गई ?’