लोकगीत सुन्दा लाग्छ प्रतिभा कसैले बनाइराख्नु, सिकाइराख्नु खारिराख्नु पर्दैन । उनीहरू आफै जन्मन्छन् हुर्कन्छन् र फैलन्छन् । लोकबाजा बजाउने लोककलाकारहरूले त्यस्तै पक्षको पुष्टि गर्छन् । उनीहरू गीत कथ्न पनि सक्छन्, तिनमा अफ्नै मादल र बाँसुरीमा सङ्गीत भर्न पनि सक्छन् र सङ्गीत सुहाउँदो गाउन पनि सक्छन् । ती लोक कलाकारले कहाँ सिके ? कहाँ परीक्षा दिएर उत्तीर्ण भए ? कहाँ मौखिक लिखित परीक्षा दिए ? यी प्रश्नले प्रतिभाको सहजतालाई पुष्टि गर्ने खालका जवाफ खोज्छन् ।
कसै कसैलाई हेर्दा व्यक्तिको प्रतिभा अभ्यास र समर्पणले नभई पानीको मूल फुटे जसरी आएको जस्तो लाग्छ । कुनै धर्ती सुख्खा र पानीको मूल भएको धर्ती उर्वर वा हरियो रसिलो भए जस्तै लाग्छ । तर यो पक्ष विज्ञानले पुष्टि गर्न कठिन छ । विज्ञान मौन छ तर यस्ता थुप्रै प्रतिभा छन् । जो सारेगम नसिकी गाउँछन् । रेखाचित्रका र रङका व्याकरण नपढी चित्र बनाउँछन् । ह्रस्व दीर्घको व्याकरण नपढी कविता लेखिदिन्छन् । उनीहरू आफ्नै रुचिले अभ्यास गर्दा गर्दै स्थापित बन्छन् । विद्यालय, विश्वविद्यालय नगई स्थापित बनिदिन्छन् ।
गायन, सङ्गीत, अभिनय, चित्रकारिता, क्यारिकेचर, स्थापत्य कला निर्माण आदि विषयमा उक्त पक्ष जीवन्त छन् । त्यस्ता कलाकारहरू सहज रूपमा एक पटक देखेकै भरमा उस्तै नाच्छन् । एक पटक चित्र देखेकै भरमा उस्तै चित्र उतारिदिन्छन् । मूर्ति, व्यक्ति वा वस्तु देखेकै आधारमा उस्तै मूर्ति कुँदिदिन्छन् । एक पटक सुनेकै भरमा उस्तै क्यारिकेचर गर्छन् । उस्तै गाउँछन् । उनका गुरु पनि हुँदैनन्, कुनै विद्यालय र प्रशिक्षण केन्द्र पनि हुँदैनन् । यी सम्भव कुरा हुन्, देखिएका बुझिएका कुरा हुन् । के लेखक बन्न त्यतिकै सजिलो छ । एक पटक सुनैकै वा पढेकै भरमा उस्तै कथा, कविता वा निबन्ध रचना हुन सक्छ ? उस्तै बनाएको लेख त कपीराइटका आँखामा पो पर्छ त । यो पक्ष कतिपयले सम्भव तुल्याएका छन् तर यो निकै जोखिमपूर्ण कुरा हो । लेखनमा भने व्युत्पत्ति र अभ्यासविना प्रतिभामा मात्र भरपर्नु दुर्घटना हुन सक्छ । धेरै लेखकहरू दुर्घटित भएका छन् ।
विशिष्ट साधना र चेतनाविना कला र साहित्यमा समर्पित हुने व्यक्तिले कला त प्रस्तुत गर्न सक्छ, आफ्नो नाम त एक समय चर्चामा ल्याउन सक्छ तर त्यसको कालजयी सामथ्र्य निर्माण गर्न सक्तैन । त्यसको दार्शनिक धरातल बन्न सक्तैन । लेखन त बौद्धिक र चिन्तनप्रधान कला पनि हो नि ।
मोटामोटी गायनमा, चित्रकारिता र मूर्तिकारितामा कसरी गायो, कसरी चित्र वा मूर्ति बनायो, नृत्य गर्दा कसरी गर्यो, जस्ता पक्ष हेरिन्छ । यसमा जब विचार र कलाको खोजी गरिन्छ तव कलकारहरूमा पनि चेतनाको प्रश्न उठ्छ । त्यो चित्रले दिने सन्देश के ? त्यस गीतले दिने सन्देश के ? त्यस अभिनयमा समाज परिवर्तन वा मानव कल्याणका पक्ष के ? यी प्रश्नले भने स्वतस्फूर्त प्रतिभालाई पनि अध्ययन र अभ्यासको खाँचो देखाउँछ । समाज, देश र विश्वबोधको पनि खाँचो औँल्याउँछ ।
चित्रकलामा चराको चित्र जसले हेरे पनि चरो जस्तै नबनुन्जेल सफल हुँदैन । मूर्तिकलामा हात्तीको मूर्ति जसले हेरे पनि हात्ती जस्तै नदेखिए, भैँसी भैँसी जस्तो वा गैँडा गैँडा जस्तो भए सफल हुँदैन । नृत्य पनि त हात खुट्टा हल्लाए जस्तो मात्र भएर हुँदै न नि । अनि साहित्य चाहिँ कसरी भाषामा लेखिएको मात्र भएर हुन्छ ? कविता जस्ता, कथा जस्ता, नाटक जस्ता रचना कसरी साहित्य हुन सक्छन् ? अझ बौद्धिक कला पनि हुँदा कसरी यसलाई जस्तो जस्तोमा चित्त बुझाउन सकिन्छ ? साहित्य सिर्जनामा जस्तो जस्तो कलाकारिता भन्दा ठ्याक्कै त्यस्तै कलाकारिताको आवश्यक छ । समाज, राष्ट्र र विश्वचेतनाको रङ पनि घोलिन आवश्यक छ ।
साहित्य सिर्जनामा प्रतिभाको मात्र भर परेर पुग्दैन । व्युत्पत्ति र अभ्यासको बल अझ सशक्त हुन्छ । कलासँगै ज्ञान, विज्ञान र दर्शनको संयोजन पनि आवश्यक हुन्छ । ज्ञान र दर्शनविना भाषिक कला मात्र कुँदिएका भए देवकोटाका निबन्ध कहाँ निबन्ध बन्थे र ? ज्ञान र दर्शनविना छन्द र संवादमा मात्र रचिएका भए समका नाटक कहाँ नाटक बन्थे र एक दुई उदाहरण पढेर मात्र हेरौँ न । हामीले भानुभक्तलाई आदिकवि मान्नुमा उनको श्लोक मात्र होइन नि, ती श्लोकको दर्शन पनि हो नि । हामीले देवकोटालाई आदिकवि मान्नुको अर्थ कहाँ महाकाव्यका ढड्डु मात्र हुन् र ? तिनमा व्यक्त व्यापक मानवताको दर्शन र चेतनासहितको महाकाव्यकारिता पो महाकवि बनाउने आधार हुन् त । दार्शनिक तहमा मनोरञ्जनप्रधान कलामा पनि यी पक्ष हेरिन्छ । नारायणगोपालको स्वरको जादुगरीमात्र स्वरसम्राट होइन पनि बुझ्न आवश्यक छ । टेकवीर मुखियाको रेखाचित्र मात्र कलाकारिता होइन । उनीहरूले ती कलामा प्रस्तुत गरेको जीवनचेतना पनि कलाकारिता हो र उनीहरूलाई आम मानिसले मान्ने कलाकार सामथ्र्य हो । साहित्यमा यो पक्ष अझ सबल हुन्छ ।
-डा. रमेश शुभेच्छु, सम्पा.