धनराज गिरी नेपाली आख्यान र कविता विधामा स्थापित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरले सार्वजनिक गरिसकेको छ । प्रस्तुत शृङ्खलामा उनको एउटा एक प्रश्न शीर्षकको लघुकथा समेटिएको छ । यस लघुकथाले पुरुष जीवनका प्रौढावस्थाका अनुभूतिलाई निकै जीवन्त रूपमा प्रस्तुत गरेको छ ।
– सम्पा. |
सरल र सज्जन,उही गाउँमा जन्मिए, बालसखा, सज्जन सात महिनाले जेठो ,हेर्दा जुम्ल्याहा जस्ता । समय चिप्लिन के बेर,उनीहरू पनि लक्का जवान भए । आफ्नो आफ्नो कारोबार,परिवार।दायित्व आफ्नो आफ्नो । असजिलोमा एकअर्काको सहयोगी । उनीहरूको मित्रता जगजाहेर, कृष्ण र अर्जुन जस्तो । पत्नी पनि जोडी मिलाएर नै बिहे गरे, उनीहरू पनि सहेली।एम ए,चारै जना,साहित्यमा रुचि !
सरलले केही दृश्यहरू देख्यो,विघटनको।केही नजिक भएका आत्मीय बन्धुहरू अति छिटो भीम र दुर्योधन भएको पायो । साझेदारहरू पानी बाराबारको स्थितिमा पुगेको पायो । तीन भाइ भएका कुइकेल परिवारको कुरुक्षेत्र पनि अवलोकन गर्यो ।राजनीतिमा झन् बढी विघटन !“ एक प्रश्न“ जन्मियो सरलको मनमा,“ होइन,के आश्चर्य हो,मानिसहरू यति धेरै नमिल्दा रहेछन् ,मिलेको अभिनय पो रहेछ । तर,तर,सज्जन र म ? खोइ त हामी आजसम्म न रातो मुख, न कालो मुख, ऊ जे भन्छ,म मान्छु, म जे भन्छु ,ऊ मान्छ ! केले मिलायो हामीलाई? “सरलको मनमा “ एक प्रश्न“ जन्म लियो । पुग्यो बाइक लिएर सज्जनको घर । आफ्नो मनोदशा सुनायो।सरलभन्दा सज्जन तार्किक र सिर्जनशील हो।समस्या समाधान गर्न सिपालु पनि हो।धेरै जोडीको सम्बन्ध बिच्छेद जोगाएको छ।दाजुभाइको विवाद पनि सुल्झाएको छ ।
“मेरो सरल मित्र सरल,केही हुन केही हुनुपर्छ । हेर ,महाभारतमा भीष्म प्रतिज्ञा हुन्नथियो भने कथा अर्कै हुने थियो । पहिलो कुरा, साथीसाथीमा दरार ल्याउने पदले गर्दा हो, हामी बीचमा कुनै पदको विवाद आएन। दोस्रो कुरा,शकुनि र मन्थराको कुराले हो सम्बन्ध खरानी हुने,हाम्रो जीवनमा त्यो पनि भएन,तेस्रो पात्र कोही पनि आएन तेरो मेरो जीवनमा ।सकियो । चालीस बर्षको हाम्रो मित्रताको जीवनमा तेरो गोजी, मेरो गोजी, मेरो गोजी, तेरो गोजी,सहयोग गरियो,लिने काम भयो,दिने काम भयो।द्रव्य शाहले पनि हाम्रो मन बिगार्न सकेनन् ! अर्थशास्त्र असजिलो विषय हो,तेरो ७७ र मेरो ८१ आएको हो, एम एमा ! साथी,हामी संगम सिनेमाको राजकपुर र राजेन्द्रकुमार पनि हुन परेन, साझा फूल र जोर भमरा पनि हुन परेन । प्रेमस्रेमको चक्कर पनि आएन हाम्रो जीवनमा यार, हिरोइन जस्ती पत्नी भए पतिलाई भित्र भित्र तनाव हुने सम्भावना हुन्छ ,झन् यो फेसबुक !
हीरो जस्तो पति भएमा उता पत्नीको नीद खराब ! हाम्रो हकमा, हामी आफ्नो आफ्नो भान्सामा तृप्त।अतृप्ति छैन। तैले मेरी शोभातिर नजर लगाएको मैले तेरी प्रभातिर नजर लगाएको भए उहिले हाम्रो दोस्ती एकादेशको कथा हुनेथिया । हामीले नारीलाई सम्मान गर्न सिकेको हो । यो कुरा हाम्रा आदरणीय गणित गुरु प्रोफेसर विवेकनारायण जमरकटेलले हामीलाई उहिले सिकाउनु भयो,अनेक उदाहरण दिएर । पञ्चायत किन जन्मियो ? हामी दुबैलाई थाहा छ । अब के कुराले हाम्रो मन बिथोल्ने ? भन्त, मेरो सन्त, जान्छ मन अन्त ? मित्रताको दीर्घजीवनको रहस्य यही हो । पवित्रता, सरलता ,सज्जनता, इमान, नो छलछाम, नो झूट ! जोगिन्छ सम्बन्ध ! चित्त बुझ्यो ?“ “ विवेक गुरुले हिसाब बुझाए जसरी बुझाइस्,मज्जाले चित्त बुझ्यो ! सलामत रहे दोस्ताना हमारा………..“गहभरि दह बनायो सरलले । “पिन्चे मोरा !“ सज्जनले साथीको गाला मुसार्यो ।