सिर्जनामा व्यक्ति प्रतिभा मात्रैले पुग्थ्यो भने, कसको प्रेरणा चाहियो ? केको अभ्यास चाहियो ? चुमन्त्रबाट व्यक्तिहरू प्रतिभावान भइहाल्ने थिए । दाइजोको सम्पत्तिले धनी भए जस्तै, चिठ्ठा परे जस्तै, बाबुको सम्पत्ति अंशमा पाए जस्तै भएर कुनै पनि प्रतिभा उठ्न सकेको देखिँदैन । प्रतिभा उसकै अभ्यास, उसकै सिकाइ, साधना समर्पणको उपज बन्दै आएको छ । जति जनाका जीवनी पढेर जाँचे पनि परिणाम अभ्यास नै निस्कन्छ ।
शास्त्रले जे बोले पनि, पढाउन घोकाउन जे गरिए पनि सिर्जनाको मूल अभ्यास नै हो । व्यक्ति प्रतिभा वा जन्मजात प्रतिभा मात्रले पुग्ने भए विशिष्ट लेखक, कलाकार अविष्कारहरूले अभ्यास गर्नै पर्ने थिएन । उनीहरू त्यसै विशिष्ट भइहाल्थे । आजसम्म कुनै पनि लेखक वा कलाकर्मी, आविष्कारक कोही पनि साधनाविना एकाएक चर्चामा छैनन् । त्यस्तो प्रतिभाको कुने एक समय चर्चा भए पनि उसको चर्चा धेरै टिकेको छैन । अभ्यास अभ्यास र अभ्यासबाट उठेका प्रतिभा चाहिँ कहिलै तल झरेको देखिएको छैनन् । उनीहरू निरन्तर आरोहणशील, निरन्तर सफल देखिएका छन् ।
संस्कृत काव्यशास्त्रले चर्चा गरेको व्युत्पत्ति अभ्यासकै हाराहारीमा देखिन्छ । व्युत्पत्तिको उत्पत्ति पनि अभ्यास नै हो । व्युत्पत्ति सोझो अर्थमा प्रभाव हो । यसले उचित–अनुचितको विवेकसहितको सिर्जन धर्मलाई बुझाउन सक्छ । प्रभाव लिन पनि सम्बन्धित कलाको अध्ययन अवलोकन र अभ्यासको खाँचो पर्छ । यो शास्त्रीय ज्ञान मात्र होइन । जीवन वा अध्ययन र अभ्यास अनुभव, शास्त्रको ज्ञान, भाषा र व्याकरणको ज्ञान, भाषा, इतिहास, लोकअनुभव, पारिवारिक वातावरण, मिथक, लोकविम्ब अदि साहित्य सिर्जनाका व्युत्पत्तिका स्रोत हुन सक्छन् । यी विभिन्न लोक विम्ब, ज्ञानविम्ब, साधना विम्ब र ज्ञान स्रोतलाई अभ्यासबाट सिर्जना बनाउन सकिन्छ ।
भाषिक साधना अरू कला साधना भन्दा जटिल छ । यसमा उच्च बौद्धिकता अपेक्षित रहन्छ । यसमा अभ्यासले मात्र पनि नपुग्ने र व्युत्पत्तिले मात्र पनि नहुने केही उदाहरणहरू पङ्क्तिकारले सिर्जनात्मक प्रशिक्षणका क्रममा पहिल्याएको छ । केही गुरुकुलमा नियमित छन्द पढाएका आधारमा ती सबै विद्यार्थी छन्दकवि बनिसक्नुपथ्र्यो । विडम्बना त्यसो हुन सकिरहेको देखिँदैन । त्यहाँ पनि अभ्यास अभ्यास र अभ्यासको सूत्र छुटिरहेको छ । अभ्यासले मात्र कविता राम्रो गाउन एक दुई लेख्न सक्ला तर अध्ययन, श्रवण र अन्य माध्यमबाट व्युत्पत्तिमूलक ज्ञान लिन सकेन भने सम्बन्धित लेखक वा कलाकार असफल हुने सम्भावना धेरै रहन्छ ।
शास्त्रसम्मत पक्षको विरोध गर्नु हुँदैन भन्छन् । शास्त्र मात्र होइन अनुभवद्वारा स्थापित मूल्य मान्यता र कलालाई पनि विरोध गर्न आधार चाहिन्छ । लोकानुभव र उखान टुक्का पनि साँचो बोलिरहेका हुन्छन् । तिनको विरोध गर्न पनि अनुभव र अर्को ज्ञान वा विज्ञानको आधार चाहिन्छ । यहाँ शास्त्रको विरोधै गर्नुनहुने होइन तर शास्त्रको विरोध गर्न सक्नलाई बौद्धिक हतियार धारिलो चाहिन्छ । कविताको मात्र कुरा गर्दा पनि शास्त्रीय लयमा कविता लेखेर कविता हुन्न भन्नेले शास्त्रीय लयमा पनि अभ्यास गरेर मात्र हुन्न भन्न सके पो मजा आउँछ ।
साहित्यको मात्र कुरा गर्दा कविता लेखन प्रशिक्षण, कथा लेखन प्रशिक्षण, छन्द सिर्जना शिविर, गजल लेखन कार्यशाला, किशोर कथा लेखन आदि अनेक अभ्यास र पठनपाठनशाला नचलेका होइन, चलिरहेका छन् । तिनबाट प्रतिभाको विकास नभएका होइनन् भइरहेका छन् । धेरै अनुभवले पाकेका मानिस ‘सिर्जनामा प्रशिक्षण हुँदैन ।’ पनि भनिरहन्छन् । प्रशिक्षणले सिर्जनालाई र सिर्जना कलालाई राम्रो बनाउने पक्ष भने अकाट्य छ । प्रतिभाको विकास अभ्यास व्युत्पत्ति र पुनः अभ्यासले हुन्छ । घोस राइटिङले, अरूका सम्पादनले केही लेखकका लेख रचना राम्रा जस्ता देखिए पनि तिनको भविष्य बलियो देखिएको छैन । अर्को कृति निस्कँदा वा मञ्चमा प्रस्तुत हुँदा ह्वाङ्गै भएका अनेक उदारण देखिएका छन् । अरू कलामा पनि यो अवस्था छ सुरुका दुई हरफ गाएपछि बाँकी सबै स्वर नक्कल गरेर गाइदिने कलाकार पनि बजारमा छन्, मूर्तिमा आकृति अरूले नै बनाइदिने र शरीर मात्र छिनो चलाएर पूर्ण गर्ने कलाकार पनि छन् तर तिनले कला वा साहित्यको महत्त्व नबुझेको बाहेक अरू केही पनि होइन ।
-सम्पादक