सन्तोष खरेलको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी नेपाली साहित्यमै उच्च शिक्षा लिई शिक्षा र साहित्य सिर्जना एवम् साङ्गीतिक क्षेत्रमा समर्पित प्रतिभा हुन् । हाल उनी प्रवासमा रहेर नेपाली साहित्यको सेवामा समर्पित छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको एउटा गजल रचना समेटिएको छ । यस रचनामा जीवनको आशावादी स्वर अभिव्यक्त गरिएको छ । -सम्पा. |
अलिकति दिने भए जान्छु पिएर
छरपस्ट यादहरू जान्छु लिएर ।
तारे कै हुँ वारिपारि भेल उर्लिँदा
लट्ठा अनि तुइन हुँ जान्छु खिएर ।
लत्पतियो जिन्दगीमा अकस्मात् रङ्ग
जुठोपुरो खुसीहरू जान्छु सिएर ।
उकाली र ओरालीमा थाकेको जीवन
आशा गरे भन्दा बढी जान्छु दिएर ।