केदार न्यौपाने विशिष्ट कवि एवम् गीतकार हुन् । उनको कलम साहित्यका गद्य र पद्य दुवै लयढाँचाका कविता सिर्जनामा सिद्धहस्त छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा न्यौपानेको मुटुले छर्छ स्नेहको बिउ’ बोलको गीत प्रस्तुत गरिएको छ । यस गीति रचनाले भावनात्मक प्रवाहमा मनको गहिराइलाई प्रस्तुत गरेको छ । -सम्पा. |
मुटुले छर्छ स्नेहको बिउ सुन्दरै सुन्दर
नराम्रो कतै देखिन्न हेर्दा अन्तरकुन्तर
ऐजेरु लाग्यो कसरी भनुँ जीवनवृक्षमा
फूल झैं स्वच्छ सुगन्ध छर्ने मान्छेको सृष्टिमा
वाहिरी रूप जेजस्तो होओस् मुस्कान चाहिन्छ
सधैंको तिर्खा मेटाउन सक्ने आस्वाद चाहिन्छ
भएन किन अर्घेलो पन मेटाउने अवस्था
इन्द्रेणीसरि सुहाउँदो गरी रहने व्यवस्था
बाहिरी रूप बानी र बान्की जे जस्तो भएुनि
आकृति वर्ण अपूर्ण अङ्ग जे जस्तो भएुनि ।
अन्तर ज्योति जीवन मोती चम्काउने संस्कार
जीवन्त पार्दै जगाई राख्ने उन्नत आचार
भावमा गाँसी सजाई राखे सौन्दर्य जाँदैन
मनको आस्था मठमा राखे कसैले लादैन ।