भर्खरै एउटा खबर आयो–त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको नयाँ भवन बन्दैछ । कति खुसीको कुरा । भुइँचालोपछि त्यो पुरानो भवनमा गएर पढेर बस्न पनि डर लाग्ने वातावरण थियो । अब नयाँ भवन बन्ने भएछ । अध्याधुनिक हल र लिफ्टसहितको पुस्तकालयको भवन ।
यो खबरले धेरै बौद्धिक व्यक्तित्वहरू खुसी भए । त्यस खबरसँगै अर्को तीतो खबर आयो – त्यो भवन फल्ना मुलुकका सहयोगमा बन्दैछ । विश्वविद्यालयको पुस्तकालय भवन किन अरूलाई बनाउन दिने ? विश्वविद्यालयको पुस्तकालय मात्र होइन नेपालकै केन्द्रीय पुस्तकालयको भवनअगाडि किन अरूको झन्डा राख्ने । नेपाल प्रज्ञाप्रतिष्ठानको पुस्तकालय गयो अर्केको झन्डामुनि बसेर पढ्नुपर्ने, विश्वविद्यालयका प्रिन्सिपलका अफिसमा गयो अर्कैका झन्डामुनि झुकेर छिर्नुपर्ने । नेताहरूलाई संसद् बनाएर पठायो अर्कैको झन्डा भएको गाडीमा गुडेको देख्नुपर्ने । बौद्धिक सचेत नागरिक भएर त बाँचिसक्नै भएन । आफ्नो पहिचान बुझ्ने नीतिनिर्माता र नेतृत्व त देशले पाउनै सकेन । यो प्रश्न बौद्धिक जगत्का लागि धेरै बिझ्दो प्रश्न हो ।
डिल्लीरमण पुस्तकालय जाँदा श्रद्धा लाग्छ । एउटा बौद्धिक व्यक्तित्वका नामको पुस्तकालय । केशर पुस्तकालय अर्को गौरवको नाम । मनद पुस्तकालय अर्को गौरवको नाम । वीर पुस्तकालय अर्को पुरानो नाम यी नामप्रति आजका शासक र नीति निर्माताहरूको किन वस्ता छैन । तिनले पुस्तकालय किन खोले । आफ्नै सम्पत्तिमा ती पुस्तक भवन बनाए ? केन्द्रीय विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको नाम माथि किन विदेशी नाम वा झन्डा ? अनुदान माग्नु पनि सीमा हुन्छ ।
माग्नेले पनि आफ्नी आमालाई जडाउरी भन्दा आफ्ना हातले किनेको लगाइदिन्छ । माग्नेले पनि टोपी चाहिँ मागेको लगाउँदैन । त्यस्तो मुलुकका उच्च शैक्षिक प्राज्ञिक संस्थामाथि किन विदेशी झन्डा ? के यति एउटा पुस्तकालय राज्य आफैले बनाउन सक्तैन ?
अनुदानदाता जोसुकै होस् । सांस्कृतिक अतिक्रमण गर्नेहरूले गर्ने नै त्यही हो । उनीहरूले ताक्ने नै विश्वविद्यालय र प्रज्ञाप्रतिष्ठानलगायतका संस्थानहरू हो । अनुदान लिने बेलामा यहाँका नीतिनिर्माताले बुझ्नुपर्छ । राज्य सक्तैन भने देशभरिका विद्यार्थीलाई हारगुहार गर्न सक्छ । दानवीरहरूलाई गुहार्न सक्छ । देशकै धनाड्यहरूको साथ लिन सक्छ तर संस्कृतिक क्षेत्रमा, शैक्षिक क्षेत्रमा अरूको झन्डा गडिनु पटक्कै राम्रो होइन ।
विद्यालय छोराछोरी पठाउँदा अरूकै झन्डामुनि झुकाउँदै पठाउनुपर्ने, विश्वविद्यालय जाँदा अरूकै झन्डामुनि शिर झुकाउँदै जानुपर्ने । बृद्धबाबुआमा अस्पताल लिएर जाँदा अरूकै झन्डामुनि झुक्तै जानुपर्ने । भोट मात्रै किन हाम्रा नेतालाई हाल्नुपर्ने ? यी प्रश्नको जवाफ खोज्न आवश्यक छ ।
विदेशी अनुदान लिँदा कमसेकम राष्ट्रिय स्वाभिमान सोच्नुपर्छ । राष्ट्रिय पुस्तकालय भुइँचालोपछि बोरामा थन्किएको छ । विश्वविद्यालयको केन्द्रीय पुस्तकालयका छानामा विदेशी झन्डा गडिँदैछ । विश्वविद्यालयबाट निस्किएको जनशक्ति खाडी र युरोप अमेरिकाको तल्लो स्तरको का मगर्न पठाइँदैछ । गाउँ गाउँमा रक्सी पसल र डान्सबारहरू खोलिँदैछ । यो सबै अदूरदर्शी निर्णयको परिणती हो । हामीले बेलैमा सचेत बनेर राष्ट्रिय गौरवका र सांस्कृतिक गौरवका क्षेत्रमा आफ्नो अस्तित्व रक्षा गर्नुपर्छ । पुलपुलेसा, बाटोघाटो, कृषि उत्पादन, नदीनालाको बाँध नियन्त्रण, बाढी पहिरोको पुनः निर्माण। उद्योगधन्दामा जति अनुदान लिएपनि हुन्छ तर शैक्षिक सांस्कृतिक महत्त्वका ठाउँ र त्यसमा पनि पुस्तकालय र त्यो पनि विश्वविद्यालयको केन्द्रीय पुस्तकागायतका महत्वपूर्ण स्थलहरू आफ्ना सामथ्र्यले निर्माण गर्नुपर्छ । आफ्नो धोती खुस्किएको आफै थाहा पाउनुपर्छ । सांस्कृतिक संवेदनशील सम्पदाहरूमा विस्तारवादको छाया पर्न दिनुहुँदैन ।
-सम्पादक