त्रिलोचन ढकाल नेपाली राजनीति र साहित्यका क्षेत्रमा सुपरितिच प्रतिभा हुन् । उनको परिचय अघिल्ला शृङ्खलाहरूमा समेटिइसकेको छ । यस शृङ्खलामा उनको ‘राजनीति’ शीर्षकको लघुकथा समेटिएको छ। प्रस्तुत लघुकथाले राजनीतिमा देखिएको पद लोलुप्ता र भ्रष्टाचारले कसरी इमान्दार नेता कार्यकर्ता गुमानाम भएर हराइरहेका छन् भन्ने कुरा देखाएको छ । -सम्पा |
‘हेलो मदनजी , तपाईंले राजनीतिबाट सन्यास लिनुभएको हो कि कसो ? राजनीतिक गतिविधिमा लागेको देखिएन ।’
सुरेशको जिज्ञासा बुझेपछि मदनले प्रतिक्रिया दिए –
‘होइन, राजनीतिबाट सन्यास लिएको छैन । न राजनीतिले मलाई छोड्न सक्छ न मैले राजनीति छोड्न सक्छु ।’
‘चुपचाप हराउनुभएको छ । पार्टीका कति धेरै कार्यक्रम सम्पन्न भएका छन् । कहीँ देखिनुभएको छैन ।’
‘म कुनै पनि पार्टीमा छैन । भएको ठाउँमा खोज्नुस् त । म यहीँ बसेर राजनीति गरिरहेको छु ।’
‘कुन अनुहारको राजनीति ? पार्टीमा नबसिकन पनि राजनीति हुन्छ ?’
‘किन न हुनु ? मैंले निस्वार्थ रूपले सेवामूलक राजनीति गरिरहेको छु । पार्टीमाथि आधारित राजनीति अपराधयुक्त सत्तासँग मात्र सम्बन्धित भएको छ । अरू क्षेत्रबाट गरिने राजनीति सेवामाथि उभिएको छ । म जस्ता लाखौं नागरिक समर्पित छन् देशमा । यिनकै त्यागका आधारमा देश चलिरहेको छ ।’
‘आफूले निर्माण गरेको पार्टी, यसरी माया मार्न त नहुने हो नि हजुर !’
‘हामीले बनाएको पार्टी कहाँ छ ? उसले अपराध गर्दैनथ्यो । भ्रष्टाचार गर्दैनथ्यो । विशुद्ध सेवामूलक काम गर्थ्यो ।’
-आनन्दआश्रम, स्याङ्जा