नेपाली साहित्यमा किन नयाँ नयाँ प्रयोग हुन सकेनन् ? किन नेपाली साहित्यको कुनै विधाको विशिष्ट कृति अनुवाद भएर विश्वसाहित्यका पाठकसामु पुग्न सकेन ? लेखकहरूले के गर्नु पथ्र्यो ? प्रकाशन संस्थाले के गर्नुपथ्र्यो ? नेपालको साहित्यिक सांस्कृतिक जिम्मा लिएका संस्थानहरूले के गर्नुपथ्र्यो ? पत्रपत्रिकाले के गर्नुपथ्र्यो ? समीक्षकहरूले के गर्नुपथ्र्यो, अनुवादकले के गर्नुपथ्र्यो ? यी सबै पक्षले के के गरेको भए विश्वसाहित्यमा हाम्रो उपस्थिति बलियो हुन्थ्यो ?
प्रश्न अनेक हुन सक्छन् । लाग्छ, नेपाली लेखकले नेपाली विषयवस्तुलाई समाउन सकेनन् जुन विश्वलाई पढाउन लायक थियो । त्यसो नभए पूर्वीय मिथकका जीवन्त विषय समेट्न सकेनन् जुन पश्चिम र विश्वका लागि नयाँ हुन्थ्यो । हाम्रा लेखकहरूले जोखिम मोल्न चाहेनन्, जोखिम मोलेर पनि फरक फरक विषय र शैली अपनाउनु पथ्र्यो । नेपाली पाठक बिच्किने डर साँचेर पुराना फ्रेममा लेखिरहँदा पछाडि परे । साहित्यको रागात्मक भाषा भेटाएनन् पहिल्याएनन् । अमर विषय पहिल्याएनन् । लेखकलाई लगाउने यस्ता आरोप सजिला छन् ।
लेखकहरू प्रकाशकलाई आरोप लगाउँछन् । त्यो मैले लेखेको चिज बेलामा छापिएको भए देश खाने थियो । विश्व खाने थियो । प्रकाशकले बेलामा छापिदिएन । छाप्छु भनेर दराजमा राखिदियो । प्रकाशन गर्ने खर्च पुगेन । प्रकाशन गर्न सकिनँ । एकेडेमी र साझाले सिर्जनात्मक कृति छाप्न छाडे । सजिलो छ यसरी प्रकाशनपटि दोष लगाउन पनि ।
फेरि कुरो लेखकमै फर्कन्छ । लेखकहरूले आफैलाई अद्यावधिक गर्न सकेनन् । आख्यानमा मैनाली, कोइराला, भिक्षु र गोठालेझैँ जम्न सकेनन् । कवितामा पौडेल, देवकोटा, भूपि र रिमाल, घिमिरे झैँ जम्न सकेनन् । नाटकमा सम, रिमाल, मल्ल र सरुभक्त झैँ जम्न सकेनन् । मदनमणिको माधवी जस्तो अर्को उपन्यास लेख्न सकेनन् । मोदनाथ प्रश्रितको देवासुर सङ्ग्राम जस्तो जोखिमपूर्ण लेखन गर्न सकेनन् । मानव जस्तो जागृतिको महाकाव्य लेख्न सकेनन् आदि । लेखकले आफै मम भन्नुपर्ने अवस्था छ ।
मूलतः हामीमा अध्ययनको कमी छ । अध्ययन साधना, अध्ययन साधना, अध्ययन साधनाका चरण पार नगरी हामी कहीँ पनि पुग्दैनौँ । घिमिरेका कविता, काव्य र गीतिनाटक त्यसै बनेका छैनन् । साहित्य न विचार मात्रै हो न कला मात्रै हो । विकलका आख्यान त्यसै लेखिएका छैनन् । त्यहाँ विचार पनि छ कला पनि छ । त्यो विचार र कलाको उचाइ अध्ययन र साधनाले मात्र दिन्छ । अहिले साहित्यकारहरू कम अध्येता, कम साधक र धेरै कृतिका मालिक भए । यसो भन्नु तीतो लाग्छ । तर अवस्था यही छ । विश्वमा के भइरहेको छ । के कस्ता नयाँ प्रयोग भएका छन् । तिनको प्रयोग हामी कसरी गर्न सक्छौँ ? यी लेखकलाई उठाउने विषय हुन् । यी विषय गौण बनिरहँदा हामी पछाडि छौँ ।
हामीसँग अर्को पनि समस्या छ । बुझेर शास्त्र थाहा पाएर लेख्ने सोमनाथ सिग्देल, वासुदेव त्रिपाठी, मोहनराज शर्मा, तारानाथ शर्मा, अभि सुवेदी, राजेन्द्र सुवेदी, भानुभक्त पोखरेल आदि प्रवृत्तिको कमी छ । शास्त्र बुझ्ने शास्त्रकार मात्र छन् । उनीहरू समालोचक मात्र बनिरहेका छन् । लेख्न जान्ने लेखक सर्जक मात्र छन् । समीक्षक र लेखक प्रतिभाको संगम ज्यादै कम छ । त्यस्तै स्रष्टा सामथ्र्य र अनुवादक सामथ्र्यको संगमको कमी छ । प्रकाशन संस्थाहरूमा कृति छनोट र मूल्याङ्कनको कमी छ । साहित्य विस्तारै प्रचार प्रसार र अखबारी लेखनमा र इन्टरनेटका सामाजिक सञ्जालमा हतार पतारको लेखन भइरहेको छ । साहित्यिक पत्रकारिता स्वयम्मा व्यवसायिक बन्न सकेको छैन । साहित्यिक पत्रकारहरूमा रचना सङ्कलन र प्रकाशनको होडबाजी छ । रचना सम्पादनको टाउको दुखाइ कम हुँदै गएको छ ।
एकापटिबाट मात्र सोचेर हाम्रो साहित्य उठ्तैन । एक पक्ष मात्र लागेर साहित्य उठ्तैन । स्थानीय निकायको साहित्यिक सांस्कृतिक बजेट मन्दिर, गुम्बा, मस्जिद यस्ता निर्माणमा खर्च भइरहेको छ । सांस्कृतिक भ्रमणका नाममा खर्चिइरहेको छ । स्थानीय, क्षेत्रीय र राष्ट्रिय प्रतिभा पहिचानको र सम्मान प्रोत्साहनको निश्चित मापदण्ड बनिसकेको छैन । यस्तो बेला हाम्रो साहित्य विश्व साहित्यमा पुगे हुन्थ्यो भन्ने सोच आउनु पनि त राम्रो कुरा हो नि ।
– सम्पा