प्रभाती किरण युवापुस्ताका सक्रिय गजलकार हुन् । उनको कलम सिर्जना, समीक्षा र पाठ्यपुस्तक लेखनमा सक्रिय छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको एउटा गजल रचना समेटिएको छ । मित्रहरू टाढिन्छन् ’ बोलको प्रस्तुत रचनाले मित्रहरूका स्वार्थी प्रवृत्तिको उजागर गरेको छ । -सम्पा. |
मित्रहरू टाढिन्छन् र भन्छन् फेरि भेटौँ है
भित्रभित्रै डाढिन्छन् र भन्छन् फेरि भेटौँ है ।
एक्लै हिँड्ने अभिलाशा जाग्दो होला कतै कतै
त्यसैले त भाँडिन्छन् र भन्छन् फेरि भेटौँ है ।
आफ्नो दुनो सोझ्याउने होडबाजी बढेपछि
हरेक ठाउँ बाँडिन्छन् र भन्छन् फेरि भेटौँ है ।
‘हतारको पाइला ठाउँमै पर्नै पर्छ भन्ने के छ ?’
खाडलमा गाडिन्छन् र भन्छन् फेरि भेटौँ है ।
चाहे जस्तो चन्द्र दाइना नभएर एक्लो हुँदा
फर्किएर लाडिन्छन् र भन्छन् फेरि भेटौँ है ।