आज हामीसँग नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान जस्ता तीनवटा प्रज्ञाप्रतिष्ठानहरू छन् । यिनले आआफ्ना ठाउँबाट नेपाली समाजलाई अगाडि बढाउने योगदान दिइरहेका छन् । यी प्रतिष्ठानका साथै प्रदेशप्रज्ञाप्रतिष्ठानको अवधारणा पनि अगाडि आइरहेको छ । कतिपय पालिकाहरूले पनि प्रतिष्ठान गठन गरेर काम गरिरहेका छन् ।
ऐतिहासिक दृष्टिले हेर्दा नेपालमा प्रजातन्त्र प्राप्तिपूर्व प्रज्ञा वा प्राज्ञिक संस्थाको खाँचो महसुस भएको पाइँदैन । राणा शासनको अवसान र प्रजातन्त्रको उदयसँगै नेपालमा प्रज्ञाप्रतिष्ठानको अभावको परिकल्पना गरिन्छ । त्यस अभावको मूल परिकल्पनाकार लक्ष्मीप्रसाद देवकोटा देखिन्छन् । उनी आफ्नो समयका ठुला साहित्य सर्जकका साथै बौद्धिक व्यक्तित्व पनि थिए । देवकोटाको साङ्गठानिक योगदानको यो पाटो उनकै विराट लेखक प्रतिभाले ओझेलमा पारिरहन्छ ।
२०१२ फागुन १७ गते ‘प्रजातान्त्रिक युगमा साहित्य, कला, सङ्गीतको सिर्जना तथा प्रकाशनका लागि प्रोत्साहन र प्रगति दिन, युग सुहाउँदो एक नेपाली साहित्यकला एकाडेमीको आवश्यकता’ अनुभव गरेर लक्ष्मीप्रसाद देवकोटाको नेतृत्वमा नेपाली लेखक–साहित्यकारमाझ छलफल भएको अभिलेख फेला पर्छ । त्यस अभिलेखअनुसार देवकोटाको निमन्त्रणामा कविकुञ्ज, मैतीदेवीमा अपराह्न ४ बजे एउटा भेला भएको थियो । कवि निवासमा भएको उक्त भेला र छलफलमा ‘एकेडेमीको स्थापनाको निमित्त के कति काम गर्नुपर्छ, कसरी रूप दिनुपर्छ र कुन आदर्शमा आधारित हुनुपर्छ’ भन्ने विषयमा छलफल भएको थियो ।
त्यस समितिका प्रारम्भिक समितिका अध्यक्ष लक्ष्मीप्रसाद देवकोटा थिए । उनलाई साथ दिँदै उनको प्रस्तावमा हस्ताक्षर गर्नेमा विश्वेश्वरप्रसाद कोइराला, यदुनाथ खनाल, सुवर्णशमशेर जबरा, सिद्धिचरण श्रेष्ठ, बालकृष्ण सम, गोपाल पाण्डेय आदि थिए । विजयबहादुर मल्लले स्वयम् आफ्नो, गोविन्दबहादुर मल्ल ‘गोठाले’ र चितरञ्जन नेपालीका तर्फबाट सहमति जनाएर हस्ताक्षर गरेको देखिन्छ ।
इस कुराले कुनै मुलुककको प्राज्ञिक गतिविधि अगाडि बढ्न तत्कालीन प्राज्ञिक समाजको कस्तो योगदान हुन्छ भन्ने बुझाउँछ । तत्कालीन कागजातको उपलब्धताको परीक्षण गर्दा सबैको हस्ताक्षर नदेखिए पनि कम्तीमा ३० जना अन्य लेखक साहित्यकारको नाम–सूची यस प्रयाससँग जोडिएको देखिन्छ ।
उक्त छलफलको कुरा राजा महेन्द्रका कानमा पुगेपछि त्यो एकेडेमी स्थापना हुनुभन्दा महेन्द्र नै कुलपति हुने गरी अर्को एकेडेमी बनाउन पहल गरे । देवकोटाले चाहेको रछलफल गराए जस्तै ‘एकेडेमी’ तुरुन्तै स्थापना नभए पनि २०१४ सालमा राजा महेन्द्र कुलपति रहने गरी नेपाल प्रज्ञा प्रतिष्ठानको गठन भयो देवकोटा त्यसका संस्थापक सदस्य भए । दरबारको निकटता र उमेरका कारण देवकोटा पहिलो उपकुलपति भएनन् तर यसको स्थापनामा उनको विशेष योगदान थियो ।
देवकोटाले अपेक्षा गरेको प्रज्ञाप्रतिष्ठान महेन्द्रले नेतृत्व गरेको प्रज्ञाप्रतिष्ठान उस्तै हुने भएपछि देवकोटाले नेपाली साहित्यको गुणस्तर विकासका लागि काव्य प्रतिष्ठानको अवधारणा अगाडि बढाए । सरकारी प्रज्ञाप्रतिष्ठान खुल्न समय लाग्ने देखेर उनले २०१३ मा काव्य प्रतिष्ठानको अवधारणा अगाडि सारे र प्रतिष्ठान पनि बनाए । त्यस प्रतिष्ठानमा लक्ष्मीप्रसाद देवकोटा, केदारमान व्यथित, भीम दर्शन रोका, माधवप्रसाद घिमिरे र शंकर गर्गीय रहेको बुझिन्छ । यस प्रतिष्ठानका प्रतिनिधिले तत्कालीन समयका प्रतिनिधि रचना प्रकाशन गर्ने गरी इन्द्रेनी पत्रिकाको प्रकाशन गर्नका साथै नेपाली साहित्यलाई अन्तराष्ट्रिय जगत्मा पुर्याउने काम गरेको पाइन्छ ।
उपलब्ध माइनोटअनुसार सम्मेलनमा जानुअघि २०१३ मार्ग २९ मा लेखकहरूको बैठकले गरेको ‘इन्द्रेनी’ पत्रिकाको विशेषांक निकाल्ने निर्णय नेपाली लेखकहरूको अन्तराष्ट्रिय जगत्मा छवि उचो बनाउने खालको छ ।
भारतको राजधानी दिल्लीमा सन् १९५६ मा भएको एसियाली लेखकहरूको सम्मेलनमा लक्ष्मीप्रसाद देवकोटालगायत लेखकहरू सहभागी भएको इतिहास छ । त्यहाँ देखि नै नेपाल–भारतका साहित्यकारको सम्बन्ध कसरी विकास हुँदै आयो भन्ने कुरा देखिन्छ । देवकोटा लगायतका कविको उपस्थितिले रुसदेखि भारतसम्म भएका साहित्य सम्मेलनमा नेपाली साहित्यको गर्विलो उपस्थिति रहेको देखिन्छ ।
त्यस बेला भारतमा एसियाली लेखकहरूको सम्मेलन भएको थियो । त्यस सम्मेलनका लागि नेपालका तर्फबाट निम्त्याइएका साहित्यकारहरूको प्रतिनिधि, व्यवस्थापन र तयारीका विषयमा भारतीय साहित्यकार तथा सम्मेलन आयोजनाका प्रमुख मुल्कराज आनन्द चिन्तित थिए । एक महिनापहिले उनले पठाएको चिठीको उत्तर र तयारीका विषयमा नेपालबाट कुनै औपचारिक जानकारी नपाएपछि सन् १९५६ नोभेम्बर १७ मा उनले पुनः पत्र लेखेको पाइन्छ । डिसेम्बर २३–२९ मा हुन लागेको एसियाली लेखकहरूको सम्मेलनमा नेपाल पनि आमन्त्रित र सहभागी थियो ।
एसियाली लेखकहरूको सम्मेलनको तयारीका विषयमा भारतीय साहित्यकार तथा सम्मेलन आयोजनाका प्रमुख मुल्कराज आनन्दले लक्ष्मीप्रसाद देवकोटाको नाममा १९५६ नोभेम्बर–१७ मा लेखेको पत्र गतवर्ष कान्तिपुरबाट सार्वजनिक भयो । यो पत्र मदनपुरस्कार गुठीमा सुरक्षित छ । पहिलो पत्र आज उपलब्ध नभए पनि पछिल्लो पत्र (नोभेम्बर १७ को) भने २–३ वटा मुख्य विषयमा केन्द्रित छ । पत्रमार्फत ८ जना नेपाली साहित्यकारहरूको प्रतिनिधित्व, सम्मेलनको तयारी र सम्मेलनका लागि पु¥याउनुपर्ने योगदानका विषयमा उल्लेख गरिएको छ । यस अर्थमा नेपमालमा आजको प्रज्ञा–प्रतिष्ठान स्थापनाहुनुपूर्व नै काव्यप्रतिष्ठानबाट बौद्धिक सांस्कृतिक आदानप्रदान र नेपालको साहित्यिक गरिमापूर्ण काम भएको देखिन्छ । समाज यस्तै केही सचेत मानिसका सक्रियताले नै निर्माण हुने हो ।
सम्पादक