त्रिलोचन ढकाल नेपाली राजनीति र साहित्यिक क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको गुरु शीर्षककको कथा समेटिएको छ । यस लघुकथाले हरेक नयाँ पुस्तालाई पुरानो पुस्तालाई सिकाउन सक्छ भन्ने कुरा देखाइएको छ ।
सम्पा. |
दसैँको तेस्रो दिन आएका नातिको स्वागत गरे हजुरबाले । नातिको मागअनुसार टीका लगाइदिनै परेको थियो । आशीर्वाद पनि दिए–
आयु द्रोणसुते श्रियं दशरथे शत्रु क्षयं राघबे ।
ऐश्वर्यम् नहुषे गतिश्च पवने मानम् च दुर्योधने ।।
शौर्यम् शन्तनबे बलम् हलधरे सत्यं च कुन्ती सुते ।
विज्ञानम् विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
नाति हँसिलो होला भनेको त अनुहार अँध्यारो बनायो । यस्तो देखेपछि हजुरबाले सोधे–”किन अँध्यारो भयौ नाति ?”
“मलाई प्राचीन समयको मान्छे जस्तो हुन आशीर्वाद दिन हुन्छ त हजुरबा ?”
“अर्थ बुझेऊ र नाति ?”
“किन नबुझ्ने ? कक्षामा नेपालीका गुरुले यो श्लोकका सम्बन्धमा बताउनुभएको थियो । तपाईंले भनेका मान्छे त मरिसके रे ! सबैको सम्पत्ति, सौर्य, ऐश्वर्य, बल आदि पनि नष्ट भइसके रे ! मलाई त्यस्तो आशीर्वाद दिने हो त ? प्राचीन कालका कुराहरू जानकारीको निम्ति मात्र काम लाग्छन् रे ! प्राचीन कालको जस्तै मात्र हुने हो भने मेरो भविष्य कस्तो होला ? अन्धकार हुन्छ हजुरबा ।”
“कस्तो दिउँ त नाति आशीर्वाद ?”
“भविष्य उज्जल बनाउने खालको । म विद्यार्थी मान्छे हो । मलाई त ‘धेरै पढ, राम्रो पढ, ज्ञानी बन, विवेकी बन, निडर होऊ’ पो भन्नु पर्यो त । अरू सबैलाई ‘तिमीले जे असल चाहना गर्छौ त्यो पुरा होस्’ भने भइहाल्यो नि ! चाहेको कुरा पुरा हुने भए अरू के चाहियो ?”
“स्याबास, मेरो नाति ! मेरो भविष्य !! मेरो गुरु !!! तिमीले त मेरा आँखा खोलिदियौ ।”