लीलाराज दाहाल नेपाली लघुकथाका क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको शक्ति शीर्षकको लघुकथा समेटिएको छ । यस लघुकथाले निजामति सेवामा व्याप्त वेथितिलाई उजागर गरेको छ। |
अफिसमा बसेर जनताको काम नगरे पनि खरिदार लक्ष्मणप्रसाद बिगत २६ बर्षदेखि एकै कार्यालयमा कार्यरत थिए । उनले काम गर्ने कार्यालय आकर्षक मध्येमै पर्दथ्यो । उनको हाउभाउ र क्रियाकलाप देखेर उनका सहकर्मीहरू घरी घरी इर्ष्याको पिङ्ग खेल्दथे ।
“होइन, खरदार लक्ष्मणको कहिल्यै सरुवा हुँदैन त ! हामीलाई त दुई वर्ष नहुँदै डाँडो कटाउँंछन् । ” एक सहकर्मी भन्छन् ।
“म पनि छक्क परेको छु । ऊ काम पनि केही गर्दैन तैपनि हाकिमको प्यारो छ । ” अर्काले थपे ।
“उसको ठुलै पावर छ जस्तो लाग्छ । एकै कार्यालयमा पेन्सन पकायो । ” फेरि अर्काले भने ।
“यस्तो मालदार अफिसमा कोही टिक्छ यत्रो बर्ष ? उसले के गरेर टिकेको होला ? ’’ अर्काले पनि सवालको मुक्का चलाए ।
आज पनि चिया पसलमा गफको बिषय लक्ष्मणप्रसाद नै भएका थिए ।
एकदिन मन्त्रालयका सचिव सहितको हाकिमहरूको टोली कार्यालयको निरीक्षण गर्न आइपुग्यो । सवै सतर्क भए ।
सचिवले सबैको अनुहार नियालेर सोधे – “ खोइ त लक्ष्मन् खरदार ? मैले कतै पनि देखिँन उनलाई ! उनी नभए त म आउनुको के अर्थ भो र ! ”
लक्ष्मणको खोजीमा दुई तीन जना कार्यालय सहयोगीहरूलाई चारैतिर दौडाइयो । आधा घण्टापछि लक्ष्मणप्रसाद आफैं आइपुगे ।
एकपटक धनुष्टंकार दण्डवत गरेर उनी के हराएका थिए , नगद सहितको कोसेलीको पोको सचिवको बिलासी जिपको डिकीमा थन्क्याएर हत्केलामा खैनी माड्दै हाकिमहरूको सामुन्ने खडा भए । लक्ष्मणले बनाएको खैनी आफ्नो ओठभित्र घुसारेर सचिवले आफ्ना सहकर्मी हाकिमहरूलाई हेर्दै भने , “ खैनीको त उस्ताद हो लक्ष्मणप्रसाद । यस्तो इमान्दार कर्मचारी पाउन गाह्रो छ । यस बर्षको उत्कृष्ट निजामती पुरष्कार यिनैलाई दिनु पर्छ । ”
बागमती –११, कर्मैया, सला