रमेश खकुरेल विशिष्ट कवि प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनको कलम कविता विधाका मुक्तक ,कविता, गीत, गजल, काव्य हुँदै महाकाव्यसम्म सबै उपविधाका आयाममा विस्तारित छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको एउटा गीतिरचना समेटिएको छ । ‘हाँसौँ खेलौँ माया गरौँ’ बोलको यस गीतिरचनाले हाम्रो जीवनलाई माया र हाँसखेलबाट रमाइलो बनाउन सकिने भाव अभिव्यक्त छ । सम्पा. |
हाँसौं खेलौं माया गरौं जति सक्छौं नानी
रुन मात्र बनाएको हैन जिन्दगानी
हेर्दा हेर्दै घाम छाया हेर्दा हेर्दै पानी
कर्कलामा शीत जस्तो हुन्छ जिन्दगानी ।
सँगै जाने केही छैन रहन्छ निसानी
जुगौं जुगौं अमर बस्छ प्रेमको कहानी ।
खुशी बाँडौं मायाँ बाँडौं रित्तिंदैन खानी
आफैभित्र आनन्दको भेटिन्छ मुहानी ।