खोलाघरे साहिँलो (गङ्गाप्रसाद अधिकारी) सिर्जना, खोज अन्वेषण र सङ्गठनका बहुआयामबाट नेपाली साहित्यमा समर्पित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको एउटा जगल रचना समेटिएको छ । शास्त्रीय लयअन्तर्गत विधाता छन्दमा संरचित यस रचनाले तखलुसको प्रयोगसहित प्रेम प्रणयकै भावना अभिव्यक्त गरेको छ ।
सम्पा. |
थिईनौ आज पाखामा कता लाग्यौ हराएर ?
कि जिस्क्याएँ भनी मैंले लुक्यौ साँच्चै डराएर ?
थिए आशामुखी आँखा,कलेजामा रहर धेरै
दुवै झस्के दुवै खस्के,ढले क्यै लर्बराएर ।
अजोरी प्रीतिको तिर्खा बढ्यो झन् रूप फैलेर
चिरा पार्याे शिशाको मन् फुटायो चर्मराएर ।
मलाई लाग्दथ्यो शङ्का र शङ्कैले लुट्यो लङ्का
दिएथ्यो सूचना देब्रे नजर्ले फर्फराएर ।
कि मेरो आलसी चाला र तिम्रो तीब्र आकांक्षा
बुझेरै पो “विधाता”ले लुकायो मन पराएर ।
न पाखो बोल्दथ्यो केही, न “गंगा”मा डुबुल्की भो
खपोस् “गंगा” स्वयं तिर्खा स्वयंमा हर्हराएर ।
***
फाकफोकथुम-४, फुएतप्पा, इलाम