हामी महाविद्यालय, विश्वविद्यालयका भाषा विभागमा पढाउने सबैलाई समीक्षक ठान्छौँ । उनलाई नै सम्बन्धित भषासाहित्यका विशेषज्ञ ठान्छौँ । उनीहरूले लेखेका समीक्षा कुन बाध्यताले कसरी लेखिएका हुन्छन् भन्ने बुझ्दैनौँ । तिनले हाम्रा सिर्जनामा कलम चलाएनन् भनेर गुनासो गर्छौं । उनीहरूको समीक्षा अभ्यास एउटा इटा बनाउने साँचोमा जस्तै निश्चित साँचोमा सीमित छ भन्ने कुरा बुझ्दैनौँ । केही विशिष्ट प्राध्यापकलाई छोडेर नाम अगाडि जतिसुकै ठुला अक्षरमा प्रा.डा लेखिएको भए पनि उनीहरूको समीक्षा कस्तो छ भनेर बुझ्न चार पाँच जना प्राध्यापकका पुस्तक वा लेख भेला पारेर अलि गम्भीर ढङ्गले पढिहेरे पुग्छ । समीक्षाशास्त्र गम्भीर साधना र रुचिको पनि कुरा हो । एउटा राम्रो समीक्षा लेख्न पन्ध्र दिनदेखि एक महिनाको समय लाग्छ । हामी आजको भोलि आफ्ना कृतिको चिरफार गरिदिने समीक्षाको अपेक्षा प्राध्यापकहरूसँग राख्छौँ ।
प्राध्यापक प्राज्ञिक पेसा हो तर यो जागिर पनि हो । यो पेसा वा जागिरमा हुने सबैले प्राज्ञिक गतिविधि गर्न सक्छन् भन्ने छैन । हामी कक्षामा पढेका कारण, उनीहरूका पाठ्यपुस्तक र गाइड पढेका कारण, आफूले उनीहरूले काम गर्ने संस्थामा पढेका कारण, आफूले उच्च शिक्षा लिन नसकेका कारण महाविद्यालय र विश्वविद्यालयमा पढाउने मानिसका प्रभावमा पर्नु स्वाभाविकै हो तर उनीहरू सम्बन्धित विषयका प्राध्यापक हुँदैमा उनीहरूसँग समीक्षा सामथ्र्य पनि अबल छ भन्नु गलत हो । यो सामथ्र्य बनाउने र हुनेसँग हुन्छ नबनाउने र नहुनेसँग हुँदैन । धेरै प्राध्यापन पेसमा रहने व्यक्तिहरू समीक्षा पनि गर्ने भएकाले बनेको आम धारणा भने स्वाभाविकै हो ।
वास्तविक समीक्षा गर्नलाई समीक्षकभित्र सिर्जनाचेत पनि चाइन्छ । धेरै अगाडि टी. यस इतियटले सर्जक सामथ्र्यविनाको समीक्षक हुँदैन भनेका छन् । हामीले यता ध्यान दिएका छैनाँै । सिर्जना र समीक्षा दुवै चेत भएका समीक्षक हामीकहाँ कति छन् ? सिर्जनाको मर्म बुझेर समीक्षा गर्ने समीक्षक कति छन् ? आजको मूल प्रश्न यो हो ।
विश्वविद्यालयको बढुवाका लागि लेखिएका समीक्षाले नेपाली समीक्षाशास्त्रको विकास गर्दैन भन्ने कुरा केही वर्षयता भइरहेको अभ्यासले देखाइरहेको छ । विश्वविद्यालयमा पढाउने प्राध्यापकहरू इटा बनाउने साँचो जस्तो एउटा साँचोमा जकडिएका छन् । उनीहरू त्यहाँभन्दा बाहिर निस्किएर केही बोल्न लेख्न सकेका छैनन् । यो विश्वविद्यालयका लागि पनि दुर्भाग्य हो समग्र नेपाली साहित्यका लागि पनि दुर्भाग्य हो । पन्ध्र जना प्राध्यापककका कृति पल्टायो भने असी प्रतिशत विषयवस्तु उही देखिनु, ती समीक्षाका अध्ययन पद्धतिका प्रायः सन्दर्भ र पृष्ठसङ्ख्या पनि मिल्नु, समीक्षा गरिएका कृतिमा कोर्समा राखिएका कृति भन्दा बाहिर आउन नसक्नु, अझ आफूले कक्षामा पढेको र पढाएको विषयभन्दा बाहिर आउन नसक्नुले यस कुरालाई पुष्टि गरिरहेको छ । धेरै प्राध्यापकले एक दुई प्राध्यापक बन्नका लागि लेखिएका पुस्तकबाहेक अन्य पुस्तक र लेख पनि नलेख्नुले पनि यसै कुरालाई पुष्टि गर्दछ ।
विश्वविद्यालयका प्राध्यापकप्रति आम लेखक र बौद्धिक जगत्को विश्वास भने गजबको छ । प्रायः प्रज्ञाप्रतिष्ठान प्राध्यापकहरूले धानेका छन्, प्रायः लेखकका कृतिका भूमिका प्राध्यापकले लेखेका छन् । प्रायः मञ्चहरूमा समीक्षकका रूपमा प्राध्यापक उभिएका छन् । प्रायः साहित्यिक संस्थाको नेतृत्व प्राध्यापकले गरेका छन् । यसो हुँदाहुँदै पनि विश्वविद्यालय , सम्बन्धित विभागहरू र महाविद्यालयहरूले अनुसन्धान नगराउने, आइ.एस बी. एन नंबर र कृतिको पृष्ठ सङ्ख्या एवम् मिति हेरेर अङ्क दिने, पीएच.डी हुनासाथ बाह्र अङ्क स्वतह थपिने कुराले यो प्राज्ञिक विश्वासमा ठुलो कुठाराघात भइरहेको छ । कुनै तहको पाठ्यपुस्तक लेख्नु र समग्र साहित्यको अवस्था विचार गरी मूल्य निर्णय सामथ्र्यसम्पन्न समीक्षा गर्नु अर्कै कुरा हो । यो अर्कै अर्कै कुरालाई एकै डालामा राखेर हेर्नुले नेपाली साहित्यले जुन रूपमा गति लिनुपर्ने त्यस रूपमा लिन सकिरहेको छैन । वास्तविक समीक्षकहरू जन्माउन र तिनको पहिचान गर्न सकिरहेको छैन । प्राध्यापकहरू प्राध्यापक मात्र भइरहेका छन् । समीक्षा जहाँको तहीँ अलमलिएको अलमलियै छ ।
सम्पादक