लीलाराज दाहाल युवा पुस्ताका सक्रिय स्रष्टा हुन् । यिनी बागमती ११, कर्मैया, सर्लाहीका प्रतिभा हुन् । उनको कलम साहित्यका अन्य विधाका साथै लघुकथामा जमेको छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको सजाय शीर्षकको लघुकथा समेटिएको छ । यस लघुकथाले पशुपन्छीका समस्याबाट मानवीय समस्याका बहुआयामलाई छोटै संरचनाभित्र समेट्न सकेको छ । यहाँ जनावारका माध्यमबाट मानव स्वभाव वा वानीव्यवहारप्रति व्यङ्ग्य पनि गरिएको छ ।
सम्पा. |
वनमा बसोबास गर्ने सकल प्रजातिका वन्य जीवजन्तुहरूले सिंहको अध्यक्षतामा भेला आयोजना गरे ।
समसामयिक समस्याहरूका बारेमा छलफल गर्न भेलाको आयोजना भएको थियो । सिंहले आआफ्ना गुनासो र समस्या खुलस्तसँग राख्न आव्हान गर्यो ।
एउटी बाख्रीले भनी , हुन त म घरपालुवा स्त्री जनावर हुँ । तपाईहरूको राज्यमा चर्न भनेर आएकी थिएँ । ऊ त्यो उन्मत्त पुरुष जनावरले मलाई बलत्कार गर्यो । म अन्यायमा परेँ । क्षतिपूर्तिसहितको न्याय चाहियो ।
लगत्तै एउटा स्यालले भन्यो, मेरै जातिको धूर्त स्यालले मेरो छोराको अपहरण गर्यो । उसले फिरौती मागेको छ ।
यत्तिकैमा फेरि अर्को हरिण उभियो र आफ्नो कुरा भन्न थाल्यो , ऊ त्यो छट्टुले मेरो छोरालाई अर्को राज्यमा बैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर परिपञ्च गर्यो । लोभ देखाएर ठगी गर्यो । साह्रै अन्यायमा परियो ।
यसै गरी अन्यले पनि हत्या ,आतङ्क,चोरी तस्करी ,वातावरण प्रदूषणलगायतका समस्याहरूको उठान गरे ।
सबैको कुरा सुनिसकेर सिंहले एकपटक टाउको हल्लायो ।
सबैको ध्यान सिंहतिर गएको थियो । सिंहबाट हुने निर्णयको पर्खाइमा थिए सबै ।
अन्तमा सिंहले ती पीडकतिर हेरेर गम्भिरतापूर्वक भन्यो, तिमीहरूले अपराध बमोजिमको सजाय त पाउँछौ नै ! त्यो भन्दा ठूलो कुरा मानिसको बानीव्यहोराको सिको गरेकोमा पहिला तिमीहरूलाई दण्ड दिने घोषणा गर्दछु ।
जनावरहरू यतिखेर भने केही बोल्न सकेनन् ।
बागमती ११, कर्मैया, सर्लाही