धनराज गिरी नेपाली साहित्यका आख्यान र कविता विधामा कलम सचाउने उल्लेख्य प्रतिभा हुन् । चितवन सौराहामा रहेर साहित्य सेवा गरिरहेका गिरीले गजल विधालाई आफ्नो विशेष प्रिय विधाका रूपमा लेखन गर्दै आएका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘आएको हो विदेशमा’ बोलको गजल रचना समेटिएको छ । यस गजलले श्रमको महत्त्व उजागर गरेको छ । नेपाली युवाको वैदेसिक रोजगारीको समस्यालाई पनि समेटिएको छ ।
सम्पा. |
आएको हो विदेशमा नून सम्झिएर
रुन्छ मन सारङीको धुन सम्झिएर
तपस्याको फल हुन्छ मीठो आत्मीयता
प्रफुल्ल छु साथी तिम्रो गुन सम्झिएर
आलोकित भएको छ आज भित्री मन
घाम सम्झिएर लेख्छु जून सम्झिएर
जब लाग्छ हिमालमा घाम बिहानीको
फुर्छ गजल लेख्न थाल्छु सुन सम्झिएर
निर्दोष जीवन मेरो आफ्नो कर्मयोग धर्म
गर्छु काम शीत धान्ने ऊन सम्झिएर !