- सम्पादकीय
साहित्य मानव सचेतनाको विकाससँगै हरेक युगका मानवले भोगेका ऐतिहासिक विषयवस्तुको कलात्मक भाषिक अभिव्यक्ति हो । यसले मानव अनुभवलाई उपजीव्य विषयवस्तु बनाएर रसात्मक, लयात्मक, यथार्थपरक एवम् कल्पनाशील लेखनका माध्यमबाट अभिव्यक्ति दिँदै समाजलाई सचेत बनाइरहेको हुन्छ । यसको विकास संसारमा मौखिक परम्परा हुँदै लेख्य परम्परामा आइपुगेको बुझिन्छ । यस्तो साहित्यका माध्यमबाट अभिव्यक्त हुने विचार वा दृष्टिकोण नै दर्शन हो ।
दर्शन दोहोर्याएर परीक्षण गरिएको चिन्तन वा दृष्टिकोण हो । दृष्टिकोण दर्शन हो कि होइन भनेर दार्शनिकहरूले लामो समय खर्च गरेका हुन्छन् । साहित्यका अभिव्यक्तिमा कुनै न कुनै दृष्टिकोण आउँछ । साहित्यमा आउने दृष्टिकोण लेखकका बौद्धिकताअनुसार अवधारणाका रूपमा मात्र पनि आउन सक्छ र दर्शनका रूपमा पनि आउन सक्छ । त्यो पूर्व स्थापित हुन पनि सक्छ र पछि स्थापित हुन पनि सक्छ । आज हामीले दर्शन वा ज्ञानको शाखा मानिएका कतिपय पक्षहरू हिजो साहित्य थिए र पछि दर्शनका रूपमा विकास भए । हामी पूर्वमा विकसित भागवत गीताको कर्मवादी दर्शनलाई महाभारतबाट विकसित वा साहित्यबाट विकसित दर्शनका रूपमा चिनाउन सक्छौँ । उपनिषद्हरूलाई वेदबाट विकसित दर्शनका रूपमा पाउन सक्छौँ । यो अवस्था पाश्चात्य दर्शनका विकासमा पनि देखिन्छ ।
आजसम्म भएका अध्ययन विश्लेषणले बाहिरी ज्ञानेन्द्रियबाट प्राप्त हुने ज्ञानलाई अन्तरइन्द्रियसँग जोडेर दर्शनको प्रतिपादन भएको देखाउँछ । भौतिकवादी धारले यो संसारको सृष्टि गतिशील प्राकृतिक नियमानुसार भएको हो भन्ने मान्छ भने रहस्यवादी दर्शन यतिमा मात्र चित्त बुझाउँदैन । अध्यात्मवादी, रहस्यवादी दर्शनले चेतनाले आत्माको रूप धारण गर्ने पक्षलाई महत्त्व दिएको छ । दर्शनहरूका सारमा पदार्थ जेठो हो, यसैबाट चेतना विकसित हुन्छ । यसलाई कुनै न कुनै रूपमा साहित्यले अभिव्यक्त गरिरहेको हुन्छ ।
आजको विश्व भौतिकवादी र भाववादीहरूका विचार र तर्कमा केन्द्रित छ । भाववादीहरू संसारको सृष्टि ईश्वरबाट भएकोे, ईश्वरले नै जगत्को निर्माण गरेको हो भन्ने मान्यता राख्दछन् । भौतिकवादीहरू प्राकृतिक रूपमा क्रमशः भएको स्वीकार गर्छन् । भाववादीको मत विज्ञानसम्मत प्रामाणिक मत होइन भन्ने धारणा भौतिकवादीको छ । भौतिकवाद अन्धो छ भन्ने धारणा भाववादीहरूको छ । साहित्य पनि यिनै चिन्तनधारामा लटपटिँदै विकास भइरहेको छ ।
कुनै पनि कुरालाई अध्ययन वा विशलेषण गर्दा कुन खालको विचार कोणबाट अध्ययन विश्लेषण गरिएको छ त्यही दृष्टिकोण हो । त्यस दृष्टिकोणलाई चारैतिरबाट हेरेर निश्चित आकार पहिल्याएपछि त्यसले दर्शनको रूप लिन्छ । दर्शनलाई निषेध गर्न कठिन हुनुको मूल कारण यही हो । दृष्टिकोण आफैँमा पूर्ण दर्शन होइन तर दृष्टिकोणको गहिराइबाट दर्शन प्राप्त हुन्छ । दृष्टिकोणको बर्तुल रगडघसबाट दर्शन जन्मन्छ । यसमा लम्बेचौडे तर्क मात्र भन्दा पनि दृष्टिकोणको गहिराइ हुन्छ ।
सरसरती हेर्दा ज्ञानवत्ता, बुद्धिमत्ता र सिर्जनात्मक साधनाको समष्टि दर्शन हो । यसलाई सर्जकका कोणबाट हेर्दा सिर्जनात्मक चिन्तन र निरन्तर साधनाको उपज मान्नु सान्दर्भिक हुन्छ । सर्जकका निरन्तर सिर्जना साधनाका क्रममा उनका विचार नै दर्शन बनेर ती दर्शन पनि सिर्जनामा प्रवाहित हुन्छन् । कौटिल्यले कुनै पनि कुरालाई बुझ्न पटक पटक अध्ययन–अवलोकन गरेर प्रमाणित गरेपछि मात्र दर्शन बन्छ भनेका छन् । यो सिर्जनात्मक दर्शन निर्माणसँग मिल्दो छ । कुनै साहित्य सिर्जना पनि पटक पटक परिमार्जन गरेर त्यसमा कला र विचारको संयोजन भएपछि मात्र वास्तविक सिर्जना बन्छ । दर्शनले होस् वा साहित्य साधनाले चिन्तनशीलता र साधनाशीलताबाट प्राप्त चेतना, ज्ञान वा विचारलाई दर्शनका रूपमा विकास गरिएको हो । मनमा पैदा भएका कौतुहलतालाई साहित्यले अभिव्यक्त गर्छ भने त्यसलाई प्रामाणिकरूपमा केलाउने र विश्लेषण गर्ने काम दर्शनले गर्दछ । यस अर्थमा दर्शन र साहित्य सँगसँगै अगाडि बढिरहेका हुन्छन् । एक अर्काका पुरक बनेर विकसित हुन्छन् । अधिकांश दार्शनिक साहित्यकार वा गम्भीर लेखक हुनुको मूल कारण यही हो ।
दृष्टिकोणविनाको साहित्यले सुस्पष्टता होइन अलमल पैदा गर्दछ । साहित्यलाई आनन्दका लागि गरिने भाषिक साधना मान्नेहरू धेरै छन् । यस आधारमा हेर्दा आनन्द व्यक्तिगत मात्र होइन समाजका लागि पनि हुनुपर्दछ । पूर्वीय चिन्तक आचार्यहरूले साहित्यको प्रयोजन धर्म, अर्थ, काम, मोक्ष देखाए । यसलाई आज धर्मका रूपमा व्यापक चर्चा गर्न सकिने ठाउँ देखिन्छ । पश्चिममा पनि कला कलाका लागि हो भन्नेहरूको जमात ठुलो छ । यस चिन्तनले नै कलालाई गम्भीर र उच्च बनाएको पनि छ । तर यो मान्यता भौतिकवादी कोणबाट सत्य मान्न नसकिने खालको छ । शून्यको वकालत गर्नेले वस्तुको द्वन्द्वात्मक अवस्थालाई निषेध नै गरिदिन्छन् । यसरी विचारका बाहकहरू एकअर्काप्रति रुखा देखिन्छन् तर तिनका बिचमा स्रष्टा सरस हुन्छन् । स्रष्टाले विपरीत धारलाई पनि सीमामा राखेर जीवन र जगत्लाई पचाएर सिर्जना गरिरहेका हुन्छन् । यस अर्थमा साहित्य दर्शनको पनि जननी बनिरहेको हुन्छ ।
स्रष्टा समाजिक प्राणी पनि भएकाले र व्यवहारिक जीवनसँग बढी घुलमिल हुने हुनाले समाजप्रतिको दायित्वबोध हिजोदेखि आजसम्मका प्रायः साहित्यमा निरन्तरित छ । अध्यात्मवादको पनि आफ्नो अर्थ छ । यसको कमजोरी भक्ति र अन्धविश्वासमा गएर अल्झन्छ । आजको विश्व भौतिकवादको चरम उपयोग र उपभोगपछि अध्यात्मको खाँचो देख्न थालेको छ र समन्वयवादको विकास भइराखेको छ । यो समन्वय साहित्यमा हुन्छ । प्राय पात्रहरू विपरीत दृष्टिकोण लिएर एउटा साहित्यभित्र द्वन्द्व गरिरहेका हुन्छन् र एउटा समन्वयात्मक विन्दुमा पुगिरहेका हुन्छन् ।
सरसरती हेर्दा हरेक स्रष्टाले आफ्ना सिर्जनामा वस्तुयथार्थका साथै मानवीय आवश्यकता र चाहनासमेत समेटिरहेको हुन्छ । उसका जीवन र अध्यन अनुभवबाट एउटा स्पष्ट दृष्टिकोण अगाडि सारिरहेको हुन्छ । उसलाई भ्रान्ति सत्य होइन भन्ने थाहा हुन्छ । अध्ययन र अनुभवका साथै कला साधनाका माध्यमबाट जीवन र जगत्को साक्षात्कार अन्तरघुलन गरेर उत्कृष्ट सिर्जना गरिरहेको हुन्छ । त्यस्तो सिर्जनाको पठन परम्पराबाट नयाँ नयाँ दर्शनहरू जन्मँदै जान्छन् । दृष्टिकोण निर्माणका लागि स्रष्टाले दर्शन पढ्नु र जानकारी लिन आवश्यक छ भने दार्शनिकहरूले नयाँ दर्शन निर्माण गर्न र बुझ्न साहित्य पढ्न आवश्यक छ । यही अध्ययनको निरन्तरताले हाम्रो ज्ञान र दर्शनको क्षितिज फराकिलो बन्दै गएको छ ।
-सम्पादक