- सम्पादकीय
अपेक्षा त अबको नेपाली साहित्य विश्वसाहित्यमा पूज्य सम्पूज्य बनोस् भन्ने हो । हाम्रा लेखक भने राजनीति जस्तै नाराहरूमा सीमित बन्न पुगे । आफ्ना पहिचानका नाममा कमजोर विषयहरू उठाएर लेख्न थाले । आफ्ना पात्रलाई विचार र चिन्तन शून्य आक्रामक बनाउन थाले । प्रकाशकहरू जसले पैसा खर्च गर्छ उसका मात्र कृति छाप्न थाले । कृति सम्पादन र छनोटका मापदण्ड बनाउन छाडे । संस्थानहरू पनि आफ्ना स्वार्थ मिल्दा कृति र लेखकहरूका कृतिमा अलमलिन थाले । विश्वसाहित्यमा पुग्ला भनेको साहित्य हिजोको विरासत धानेर नउभिएला भन्ने अवस्थामा देखिन थाल्यो ।
साहित्यकारहरू आत्मरतीमा रमाउन थाले । फेसबुकमा रचना पोस्ट गरेर आफू स्थापित भएको ठान्न थाले । अरूलाई रचना वाचन गराएर स्थापित भएको ठान्न थाले । गम्भीर चिन्तन र लेखन भन्दा तात्कालीन विषय उठाएर लेख्न थाले । आआफ्ना ससाना झुन्ड बनाएर आपसमा अतिथि साटासाट, प्रमुख अतिथि साटासाट गर्दै मञ्चहरूमा घुम्न थाले । आफू आफ्ना आफन्तका नाममा संस्था खोलेर र पुरस्कार स्थापना गरेर तिनको पनि साटासाट गर्न थाले । तिनै पुरस्कारलाई मदन पुरस्कार नै पाए जस्तो गरी खुसी साटासाट र बधाई आदान प्रदानमा रमाउन थाले । पार्टीगत रूपमा फरक फरक झन्डामुनि बसेर लेख्न थाले । त्यसो गर्दा आफ्नो झन्डामुनिकालाई नराम्रो छ भने पनि नराम्रो भन्न नमिल्ने अवस्थामा पुगे । कमजोर लेखकहरू नै लेखक सङ्गठनका नेतृत्वमा रहँदा अरूले पनि त्यस्तै सिको गर्ने नै भए ।
समालोचना विकासित हुँदै जानु पर्ने हो । यो झन् चुमुर्र्किंदै गयो । विश्वविद्यालयमा प्राध्यापन गर्ने लेखकहरू अनुसन्धानमूलक जर्नलमा आफूलाई बढुवा हुन पुग्ने लेख छापेर आफूलाई ढुक्क बनाउन थाले । अब उनका दायित्वमा आफूलाई बढुवा हुन चाहिने लेखभन्दा अरू नलेखे पनि हुने भयो । विश्वविद्यालयले मापदण्ड नै त्यस्तै बनाइदियो । अन्य समीक्षकहरू पुस्तकको विषयवस्तुमूलक समीक्षामा हराउन थाले । अब गम्भीर समीक्षकहरूको खाँचो हुने भयो । विश्वविद्यालयहरूले जति एम. ए, एम.एड, एम.फिल, पीएच.डीका प्रमाण पत्र बाँडे पनि तिनले जुन क्षेत्रमा जुन काम गर्नुपर्ने हो सो गर्न सकेनन् । प्राज्ञिक योगदान गर्न सकेनन् । समाज विकासका बहुआयाममा साहित्यलाई जोड्न सकेनन् ।
हामीसँग विषयविज्ञहरू हुँदै नभएका होइनन् । प्रविधि, यातायातको असुविधा आदिले विज्ञहरू घरघरै थन्किए । प्रतिष्ठित संस्थाहरूलाई पनि चाकरीवाज विज्ञहरूले काम चल्न थाल्यो । उनका रचना प्रतिष्ठित पत्रिकाहरूमा खोजेर छापिन छोड्यो । उनका रचना प्रतिष्ठित संस्थाहरूले पुनः प्रकाशनका लागि सम्झन छोडे । उनका विचार सुन्ने धैर्य पनि रहन छाड्यो । उनीहरू क्षमता हुँदाहुँदै आफ्नै बोझले घरभित्र थुनिए । मञ्चहरूमा कपीपेस्ट सामर्थ्यका कार्यपत्र बढी पढिन थाले । राजनीतिक लोकप्रियता जस्ता भाषणले बौद्धिक साहित्यिक मञ्च गुञ्जिन थाले । त्यहाँ गम्भीर वहस हुन छाडे । एक किसिम पार्टीगत भागवण्डाका वक्ताहरू बोल्दा बोल्दै औपचारिकतामा समारोहहरू आयोजना हुन र सकिन थाले । केही राम्रा र पुरस्कृत चर्चित भनिएका कृतिमा पनि नयाँ दर्शन, चिन्तन र शिल्प भेटिन छाड्यो । तिनलाई चर्चित बनाउन अखबारी समीक्षा मूल कारक बन्न थाल्यो । लेखकको सञ्चार पहुँच मूल पक्ष बन्न थाल्यो ।
केन्द्रहरू भत्किँदै जानु नराम्रो होइन । केन्द्र भत्कनुपर्छ । केन्द्र भत्कँदा विकेन्द्रहरूले विरासत थाम्नुपर्छ । नेपाली साहित्यमा त्यो सङ्केत देखिँदै छैन । साहित्य सिर्जना अलि गम्भीर विषय हो । कुनै विषयको कृति प्रकाशन गम्भीर विषय हो भन्ने भन्दा पनि यो चर्चित हुने विषय हो भनेर बुझिँदै र सोहीअनुसार व्यवहार गरिँदैछ । यी कुनै पनि सङ्केत अबको साहित्यका लागि सुखद् होइनन् । यसको विकासमा पुनः गुरुगम्भीर साधकहरूको समर्पणको खाँचो छ । गुरुगम्भीर समीक्षकहरूको खाँचो छ ।
– सम्पादकीय.