- गजल
नारायण निरासी नेपाली साहित्यको पछिल्लो पुस्ताका उल्लेख्य प्रतिभा हुन् । उनको कलम फुटकर कविता, गीतगजल हुँदै काव्य र महाकाव्य (संयुक्त)सम्म चलेको छ । नेपाली साहित्यमै उच्च शिक्षा लिएका निरासी अध्यापन पेसामा संलग्न छन् । बहरबद्ध गजल रचना र छन्दोबद्ध कविता रचनामा निकै सफल निरासीको एउटा बहरबद्ध गजल रचना साहित्यसागरको प्रस्तुत शृङ्खलामा समेटिएको छ । यस ‘चरी लैजा उडाइ यो खबर’ बोलको रचनाले संयोगात्मक प्रेम प्रसङ्गलाई अभिव्यक्त गरेको छ ।
– सम्पा. |
चरी लैजा उडाई यो खबर मेरी प्रियासामु
म पोखूँ चित्तका सारा रहर मेरी प्रियासामु ।
जवानी खेर जाने भो म एक्लै बाँच्न गाह्रो भो
सुनाऊँ भेटमा छिट्टै कहर मेरी प्रियासामु ।
मलाई जादु के लायौ हरायो भोकनिद्रा नै
बढाऊँ पाइला चाल्दै सफर मेरी प्रियासामु ।
सुनामी छालझैँ उर्ल्यो सुनौलो बैँसको बाढी
पुर्याओस् वेगले झट्टै असर मेरी प्रियासामु ।
छहारी पाउँदा तिम्रो मलाई स्वर्गझैँ लाग्छ
बिताऊँ प्रेमले बाँकी प्रहर मेरी प्रियासामु ।
दियोमा तेल थप्ला को निभे बत्ती म निभ्नेछु
बचाऊ या पिऊँ आफैँ जहर मेरी प्रियासामु ।