- सम्पादकीय
नेपाली पुस्तक बजारमा टाइपिङ, डिजाइनिङ, मुद्रण आदिमा जति पनि खर्च गरिन्छ । चित्रकारका लागि र कभर डिजाइनरका लागि झन् ठुलो रकम खर्च गरिन्छ । तर पुस्तक सम्पादनका लागि खर्च तयार नगरी पुस्तक निकाल्ने योजना गरिन्छ । यसलाई सबैले जान्ने काम मानिन्छ । लेखकले नै जान्ने कामका रूपमा लिइन्छ । यसो भए पनि कुनै कृति प्रकाशनपूर्व विज्ञबाट सम्पादन गर्नु त्यस कृतिका लागि न्याय हुन्छ ।
साहित्यिक र अन्य कृतिहरूमा भूमिका लेखाउने चलन छ । भूमिका लेखकका लागि पनि खर्चको जोहो गरिँदैन । त्यसमाथि भूमिका लेखकले नै पुस्तकको शुद्धासुद्धि हेरिदिइहाल्छ नि भनिन्छ । नेपाली विषय नै पढेको, भषा हेर्न सक्ने भूमिका लेखक भए भए भाषा पनि हेरिदेला तर उसको पारिश्रमिकको नजरअन्दाज गरिन्छ । मानौँ भूमिका लेखकहरू सबै कृति निकाल्ने मान्छेको सेवा गर्न बसेका मानिस हुन् । नेपाली भषा पढेकाहरू नेपाली वाङ्मयमा निस्कने सबै पुस्तकको शुद्धाशुद्धि हेर्न बसेका सन्तहरू हुन् । यस सोचाइले हाम्रा कृतिहरू सम्पादन नभइकनै प्रकाशन भइरहेका छन् । नेपाली पढेका दक्ष मानिसहरू पनि आफ्नो दक्षता थाहा नपाई वा पाएर पनि उपयोग गर्न नपाई बसिरहेका छन् ।
पुस्तक प्रकाशन गर्दा अन्य पक्ष भनेका आर्थिक पक्षसँग जोडिने पक्ष मात्र हुन् । यसको बौद्धिक पक्ष यसमाथि भूमिका लेखन र सम्पादनमा जोडिएको हुन्छ । फेरि कुनै कृति सम्पादन भनेको भषाको शुद्धाशुद्धि मात्र होइन । यो विशेष सिर्जनात्मक एवम् बौद्धिक कला हो । यो कला मात्र होइन बौद्धिक जिम्मेदारी पनि हो । यस जिम्मेदारीलाई व्यवस्थित बनाउन लेखक, प्रकाशक, स्वयम् सम्पादक वा भूमिका लेखक सबै सचेत हुनुपर्छ । त्यसो नभए हाम्रो समयमा निस्किएका कृतिले न त विधागत परिपक्वता पाउने छन् न त शुद्ध र व्यवस्थित ढङ्गले ज्ञानको सञ्चयन र प्रशार नै गर्न सक्छन् । पुस्तकालयलाई डस्टविन हुनबाट जोगाउन पनि हरेक कृतिको राम्रो सम्पादन हुन आवश्यक छ ।
कृति प्रकाशन कुनै लेखकको लामो साधनाको सार्वजनिकीकरण हो । भनिन्छ कुनै राम्रो कृति लेखकका एक दशकसम्मका अनुभव र साधनाले सम्भव हुन्छ । त्यति लामो साधना र समर्पणको सामग्री सार्वजनिक गर्दा सकेसम्म राम्रो सम्पादन र शुद्ध छाप्ने कुरालाई केन्द्रमा राख्नुपर्छ । कागजको क्वालिटी र अन्य पक्ष कृतिका लागि सहायक पक्ष मात्र हुन् । हामी मूल पक्ष छाडेर सहायक पक्षका पछाडि दौडिइरहेका छौँ । यौ डौडले हामीलाई कहाँ पुर्याउँछ अहिले केही भन्न सकिँदैन । मात्र चिन्ता गर्न सकिन्छ ।
-सम्पादक