- गजल
बालकुमारी घिमिरे नामसालिंग, इलामकी प्रतिभा हुन् । माता तिलारूपा चापागाईँ घिमिरे र पिता लीलाधर घिमिरेकी सुपुत्री घिमिरेले साहित्य र समाजशास्त्रमा उच्च शिक्षा हासिल गरेकी छन् । उनी अहिले जीवनयापनका क्रममा अमेरिका रहे पनि नेपाली भषा साहित्यका क्षेत्रमा कलम चलाइरहेकी छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको मेरा नसा नसामा बोलको बहरबद्ध गजल रचना समेटिएको छ । यस रचनाले शृङ्गार चेतनालाई आत्मसात गरेको छ ।
-सम्पा. |
मेरा नसा नसामा बढ्दै छ प्यास उनको
लाग्दै छ जिन्दगीले पायो निकास उनको
जुध्दा सिधै नजर यी हाँस्दै गरिन् इसारा
पाएर साथ जहिल्यै हर्षित छु पास उनको
झुम्दै छ चित्र दिलमा हरदम बनेर छाया
ऐना समीप हेरूँ तस्वीर खास उनको
बोली मधुर अधरको मुस्कानमा छ जादू
मेरो हरेक धड्कनमा चल्छ सास उनको
चाहन्छ मनले हरपल उनकै बनूँ म आत्मा
शब चढ्छ जब चितामा होस् साथ लास उनको ।