- सम्पादकीय
नेपाली साहित्यलाई विश्व साहित्यले भारतीय साहित्यको फुटनोटका रूपमा नहेरोस् भन्ने चिन्ता धेरै पुरानो हो । यसमा महाकाव्य र आधुनिक कथा, निबन्ध, उपन्यास एवम् नाट्य विधाका कृतिहरू प्रकाशन भएपछि यो दृष्टिकोण चिर्न सकिन्छ भनेर देवकोटा, सम, भिक्षु, कोइराला, मल्ल, पारिजात, राई, लामिछाने आदिले गरेको प्रयास निकै महत्वपूर्ण छ । त्यो प्रयत्न बिचमा कहाँ आएर कुन पासोमा पर्यो भन्ने विषय चिन्ताको विषय हो ।
नेपाली साहित्य मात्र होइन विश्व साहित्यका कुनै पनि भाषाको साहित्य विश्वप्यापी बन्नमा विविध कारण हुन्छन् । ती विविध कारण र माध्यममध्ये एक एक प्रमुख पक्ष राम्रो अनुवाद हो । उत्साही र गम्भीर अनुवादक, अन्तर्राष्ट्रिय साहित्यको अध्येता पनि हुन आवश्यक छ । यसमा उच्च तहका अध्यापकको भूमिका र सम्बन्धित भषा साहित्य पढाउने विभागको पनि भूमिका त्यत्तिकै महत्त्वपूर्ण हुन्छ । यसमा नेपाली साहित्य पनि अङ्ग्रेजी साहित्य र अन्य प्रमुख भषा साहित्यका कृति जस्तै अन्तर्राष्ट्रिय मञ्चमा देखियोस् र सम्मानित होस् भनेर चिताउने शुभचिन्तक व्यक्ति र व्यक्तिभन्दा बढी संस्थाको खाँचो छ । त्योभन्दा पनि खाँचो राज्यका भषा साहित्य र संस्कृति हेर्ने निकायहरूको जिम्मेवारी बोधको देखिएको छ । नेपाली भषानुवाद परिषद्को स्थापना यही उद्देश्यको परिपूर्तिका लागि भएको थियो । ती र त्यस्ता संस्थाको सक्रियता आज कस्तो छ ? सोचनीय छ ।
अनुवादकै सिद्धान्त, सीप र प्रविधिमा दीक्षित अनुवादहरूका नियमित रगडघसबाट कुनै भषा साहित्यको मूल्यवान् कृति विश्वसाहित्य बजारमा पुगेको हुन्छ । त्यसको त्यतिकै राम्रो छपाई र त्यतिकै राम्रो सम्पादन पनि हुन आवश्यक छ । नेपाली साहित्यको अनुवादको मूल माध्यम भाषा हिन्दी र अङ्ग्रेजी देखिएको छ । हिन्दी अनुवादहरूबारे त्यति अध्ययन र खोजविन पनि भएको छैन । अङ्ग्रेजी अनुवाद के कति र के कस्ता कृति भए भन्ने विषय चासो पर्दो विषय हो । अङ्ग्रेजी भषा साहित्य पढेर, अङ्ग्रेजहरूसँगै उठबस गरेर, उनीहरूको दैनन्दिनका मनक वा बोलचालका भाषामा आफूलाई अभ्यस्त गराएका अनुवादकहरूले जे जति कृतिको अनुवाद गरे तिनले मात्र सफलता पाएका छन् । हाम्रामा अलि अलि नेपाली र अलि अलि अङ्ग्रेजी जान्ने अनुवादक त छन् तर दक्ष अनुवादक ज्यादै कम छन् । प्राय: साहित्य पढेका, एक भन्दा बढी भाषाका अलिअलि ज्ञान भएका, केही समय विदेश बसेका र मूलत: अनुवाद कार्यमा रुचि भएकाहरूले अनुवादको काम गर्दै र यसको साख धान्दै आएका छन् । यसरी विश्व बजारमा पुगेका हाम्रा कृतिहरूमा सीमा हुन सक्छन् । हामीले हाम्रो कृतिगत मूल्य देखाउन नसकिरहेका हुन सक्छौँ ।
आफ्नो साहित्यलाई विश्वबजारमा पुर्याउने प्रमुख माध्यम अनुवाद परम्परामा हाम्राहरू छन् । ती सीमा के हुन् हामीले बेलैमा ठम्याएर अगाडि बढ्न आवश्यक छ । हाम्रा विद्वान्हरूले जति नै पढे पनि मातृभाषी वक्ताले जस्तो अङ्ग्रेजी भाषा बोल्न र लेख्न कठिनै हुन्छ । हाम्रो दोस्रो भाषा प्राय: किताबी ज्ञानमा र त्यसमा पनि औपचारिक उच्च शिक्षामा सीमित छ । हाम्रो विविध सन्दर्भमा बेलायती वक्ताहरूको अङ्ग्रेजी बोलीबाट प्रभावित छ । जेजस्ता सीमा रहे पनि हामीले अगाडि बढ्नु नै छ । अनुवादकहरू जन्माउनु र यसको तीव्र विकास गर्नुछ । यो चुनौति र अवसर पनि दुवै हो ।
अनुवादकका प्रयत्नमा मात्र नेपाली भषा साहित्य विश्व रङ्गमञ्चमा पुग्ने होइन । यसका लागि नेपाली साहित्यको साख र सामथ्र्यका बारेमा सुझबुझका साथ सैद्धान्तिक तर्क र मौलिक स्थापनासहित हाम्रो साहित्यको गरिमा, विश्वमञ्चमा स्थापित गर्न सक्ने सिद्धान्तकार, गम्भीर अध्येता र निस्पक्ष एवम् वस्तुगत मूलयनिर्णयसम्पन्न समीक्षकको पनि त्यतिकै अहम भूमिका छ । यसका साथै बजारका साथै साहित्यिक र कृतिगत मूल्यका सामग्री प्रकाशन गर्ने प्रकाशकहरूको पनि खाँचो छ । सबैमा चेतना भया ।
-सम्पादक