- गजल
प्रकाशमणि दाहाल साहित्यका समीक्षा, अनुवाद, सिर्जनालगायत बहुमुखी क्षेत्रमा सक्रिय प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको खुला छ एउटा सुन्दर नगरी’ गजल रचना समेटिएको छ । यस रचनामा व्यङ्ग्यात्मक पारामा देशभक्तिको सन्देश दिइएको छ ।
– सम्पा. |
खुला छ एउटा सुन्दर नगरी आऊ झट्ट लुटौँ
रोक्न कोही खोज्छ भने त्यसलाई खेदी खेदी चुटौँ ।
एकमत रहनुपर्छ लुटुन्जेल जो जेसुकै भए पनि
लुटिसकेपछि केही छैन जति नै टुक्रिएर फुटौँ ।
अरक्षित सिमाना छन्, बेवारिस अकूत खजाना
आऊ लुटेरा सातै महाद्वीपदेखि सम्पूर्ण जुटौँ ।
आदर्श वा नैतिकता वा भन्लान् देशभक्ति कुनै
लुटमा मिले ठिक छ नमिले सबैलाई कुटौँ ।
सग्लो नरहोस् केही न ता रहोस् शुद्ध कुनै
तोडौँ, फोडौँ, बाँकी रहे भट्टीमा हालेर भुटौँ ।
राष्ट्रियता, वाद, विचार, मानवतासानवता
स्वाङ जेजे पारे हुन्छ लुट्न भने तुरुन्त उठौँ ।
लुटेरै हो मूल त मान्छे नैतिकताले बन्धित
गोलीमारो नैतिकतासैतिकता, आऊ मस्त लुटौँ ।