- गजल
रोम अनुराग वस्नेत पोर्चुगलमा बसेर नेपाली भाषाको सेवा गर्ने प्रतिभा हुन् । उनका कविता र गजल निकै सशक्त हुन्छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको एउटा गजल समेटिएको छ । यस गजलमा समाज परिवर्तन हुन नसक्ने जडसूत्रहरूको विरोध गर्दै सांस्कृतिक चेतना अभिव्यक्त छ ।
-सम्पा. |
भयो छोडीदिनुस् मालिक ! दरबार बनाएका कुरा
आखिर खोलेरै डढाउछन् आंगमा लगाएका कुरा
खै कसरी भन्यौ देशले मुक्ति पाउँदैछ पीडाबाट ?
मैले आजसम्म सुनेको छैन उडुस अघाएका कुरा
विधुरलाई भने छुँदा सम्म छुँदैन मेरो संस्कार
उजाड्छ विधवालाई खोसेर जन्मिदै पाएका कुरा
हजुर शब्दमा घाउ अनि बोलीमा पीडा खोज्नु हुन्छ
अक्सर आँखाबाट पोखिन्छन् ओठले लुकाएका कुरा
शहर देखाएको कुरो घरी घरी गरि रहन्छ छोरो
आमाले आजसम्म गरिनन् संसार देखाएका कुरा ।