- गजल
सोम निरौला (२०३२ असोज २०, सुम्बेक, इलाम, सुपुत्रः मित्रलाल निरौला र योगमाया निरौला) इलाममा रहेर साहित्य र शिक्षा सेवामा समर्पित प्रतिभा हुन् । उनी अमर मा.वि बरबोटेमा अध्यापनरत छन् । वी.एससी र एम. एड निरौला विज्ञान र गणितका शिक्षक भए पनि उनको साहित्यिक क्षेत्रको समर्पण लोभलाग्दो छ । उनको सिसिफस शिर्षकको कवितासङ्ग्रह प्रकाशित छ । उनले गजल र काव्य रचनामा पनि निरन्तर कलम चलाइरहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको हिजो खानुपर्थ्यो गजल समेटिएको छ । प्रस्तुत गजलमा नेपाली राजनीतिका नेता पात्रहरूको चरित्रमाथि व्यङ्ग्यात्मक प्रहार गरिएको छ ।
– सम्पा. |
हिजो खानुपर्थ्यो कि डन्डा कि गोली
दुवै हातमा लड्डु छन् आजभोलि ।
अकस्मात् भयो आज सम्पन्न किन्तु
थिए अस्ति सम्पत्ति झन्डा र झोली ।
पुरै फेरियो भोटको भोलिपल्ट
नमस्ते गर्यो हिँड्छ बोल्दै नबोली ।
कुरा गर्छ विद्रोहका बाल्छ राँको
जिते पुग्छ दिल्ली लिई एक टोली ।
लगाइन्छ हा ! लासलाई अबीर
नमिल्ने कुरा हुन् कि मुर्दा र डोली ?