- समाचार
दायित्व वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न एक विशेष कार्यक्रममा प्रा. गोपीकृष्ण शर्माको अभिनन्दन गरिएको छ । सो कार्यक्रममा उहाँलाई केन्द्रबिन्दुमा राखेर विभिन्न ६० जना लेखकद्वारा लेखिएको तथा साहित्यकार कृष्णप्रसाद बस्यालद्वारा सम्पादन गरिएको ‘प्रा. गोपीकृष्ण शर्मा व्यक्ति एक व्यक्तित्व अनेक’ नामक ग्रन्थ पनि सार्वजनिक गरियो ।
कृति लोकार्पण र अभिनन्दन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति तथा कार्यक्रमका प्रमुखअतिथि श्री गंगाप्रसाद उप्रेतीले भन्नुभयो— “लामो समयसम्म त्रिवि नेपाली विभागमा बसेर प्राध्यापन गरेका र नेपाल प्रज्ञा–प्रतिष्ठानको बृहद् नेपाली शब्दकोशको सम्पादनमा समेत संलग्न भएका अत्यन्त शालीन र सज्जन व्यक्तित्व श्री शर्मालाई अभिनन्दन गर्न पाउनु मेरा लागि सौभाग्यको विषय हो ।”
त्रिभुवन विश्वविद्यालयमा सँगसँगै प्राध्यापन गरेका अर्का प्राज्ञिक व्यक्तित्व प्रा.डा. माधवप्रसाद पोखरेलले भन्नुभयो— “धेरै नबोल्ने र बोलेको काम इमानदारीपूर्वक सम्पन्न गर्ने, सधैँ मैत्रीभाव राख्ने, अजातशत्रु गुरुका पनि गुरु, गोपीकृष्ण गुरुजस्ता विद्वत् व्यक्तित्वको अभिनन्दन हुनु भनेको विद्वत समुदायकै लागि खुशीको कुरा हो ।”
अभिनन्दित व्यक्तित्व प्रा. गोपीकृष्ण शर्माले भन्नुभयो — “मजस्तो सम्मान वा अभिनन्दनको अभिलाषा नराख्ने तर कर्ममा विश्वास गर्ने मानिसलाई यति ठूलो समारोहको आयोजना गरेर जुन सम्मान दिनुभयो, आयोजक संस्था, ग्रन्थसम्पादक र लेखकहरू सबै धन्यवादका पात्र हुनुहुन्छ ।”
दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा लोकार्पित ग्रन्थमाथि गहन टिप्पणी गर्नुभएको थियो, डा. लेखप्रसाद निरौलाले । उहाँको भनाइ थियो— “करिब ४०० पृष्ठको प्रस्तुत ग्रन्थमा प्रा. गोपीकृष्ण शर्माका बारेमा जेजति कुराहरू लेखिएका छन्, ती बाहेक अरू धेरै कुरा लेखिन बाँकी छन् जुन भविष्यमा आउँदै जानेछन् ।
उक्त अभिनन्दन तथा कृति लोकार्पण कार्यक्रममा ग्रन्थसम्पादक कृष्णप्रसाद बस्यालले कृति सम्पादनको औचित्य पुष्टि गर्नुभएको थियो भने प्रसिद्ध कवि भुवनहरि सिग्देल, डा. रामप्रसाद दाहाल तथा कवि यादव भट्टराईले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।