- सम्पादकीय
कवि माधव घिमिरे (१९६६–२०७७) नेपालका राष्ट्रकवि थिए । उनको निधन भएको वर्ष दिन बितिसकेको छ । यही भाद्र दुई गते उनको प्रथम स्मृति दिवस हो । उनलाई दिएको राष्ट्रकवि उपाधि उनका लागि मात्र थियो कि अब अरू कवि पनि राष्ट्रकवि बन्न सक्छन् ? भन्ने प्रश्न अनुत्तरित रह्यो ।
माधव घिमिरेलाई राजाले दिएको पदवी भए पनि माधव घिमिरे सो पदवीका लागि योग्य र सुयोग्य पनि थिए । देश गणतान्त्रिक व्यवस्थामा प्रवेश गरे पनि राष्ट्रप्रमुखका हैसियतले दिएको पदवीबारे आज आएर विवाद गरिनु हुँदैन ।
साहित्यिक जगतमा एउटा जिज्ञासा थियो–अब नयाँ राष्ट्रकवि को बन्छ ? घिमिरे जस्तै सही पात्र छनोट गरेर अहिलेको सरकारले अर्को राष्ट्रकवि चुन्न सक्थ्यो तर वर्षदिनसम्म राज्यको ध्यान त्यतातिर जान सकेन । अझै पनि चुन्न सक्छ । नेपाली साहित्य जगत्मा माधव घिमिरेलाई दिएको पदवी एक किसिकको सुखद् सुरुवात थियो । यो राज्यका तर्फबाट लेखक कविलाई दिएको उच्च सम्मान थियो । यस सम्मानले निरन्तरता पाउन सके अरू लेखकहरूको मनोबल पनि बलियो बन्ने थियो । अरू स्रष्टाहरू पनि राष्ट्र र राष्ट्रियताका विषयमा सचेत हुने थिए ।
समाजलाई उज्यालो छर्ने चेतनाको कार्य राजाले गरे पनि राष्ट्रपतिले गरे पनि त्यो चेतना नै हो । माधव घिमिरेले पाएको राष्ट्रकविको उपाधि छ दशक लामो सार्वजनिक कविता साधनापछिको प्राप्ति थियो । उनी नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति र आजीवन सदस्य भए पनि उनलाई दिएको यो पदवी विशेष थियो । उनका सिर्जनात्मक विशेषताका आधारमा उनले पाएको उपाधिका विषयलाई लिएर विवाद गरिरहन आवश्यक छैन ।
विश्व सन्दर्भमा राष्ट्रकवि एक व्यक्तिबाट अर्को व्यक्तिमा हस्तान्तरण हुने उपाधिका रूपमा अभ्यासमा रहेकै उपाधि हो । यस्तो उपाधि पाएका कविको पहिचान विश्वकविका रूपमा पनि विकास भएको पाइन्छ । राष्ट्रले सम्मान गरेको प्रतिभालाई नै विश्व समुदायले पनि खोजी गर्दछ । यस अर्थमा राष्ट्रकविको उपाधि राष्ट्रभित्रको प्रतिभालाई विश्व समाजलाई चिनाउने काम पनि हो ।
नयाँ कविलाई राष्ट्रकविको उपाधि दिँदा राज्यलाई कुनै घाटा हुँदैन । पालिकाका उपाध्यक्षलाई जति भत्ता पनि चाहिँदैन । सवारी र सेवासुविधा पनि केही चाहिँदैन । यो स्रष्टालाई गरिने मानका खातिर मान भने जस्तै उपाधि मात्रै हो । सेवा सुविधाका दृष्टिले उति महँगो नभए पनि यसको सांस्कृतिक अर्थ भने निकै गहिरो छ । यो अर्थलाई राज्यले बुझोस् । राज्यले योग्य सुयोग्य पात्र चुनेर राष्ट्रकविको पदवी हस्तान्तरण गर्दै अगाडि बढाओस् । यस उपाधिले नेपाली साहित्यिक जगत्लाई साझा प्रतीक पनि दिन सकोस् ।