काठमाडौं : यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’लाई प्रदान गरिएको छ। मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले सो कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको हो।
यसैगरी बैठकले जगदम्बाश्री पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गर्ने निर्णय गरेको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। दुवै पुरस्कारको राशि जनही चार लाख रुपैयाँ रहेको छ।
मदन पुरस्कार गुठीले नेपाली इतिहासका प्राथमिक सामग्रीहरूको संकलन र पहुँचलाई विस्तार गरेकाले ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज’लाई मदन पुरस्कार प्रदान गरेको जनाएको छ। मदन पुरस्कार गुठीमा २०७७ सालमा प्राप्त २२२ पुस्तकमध्येबाट गुठीले नौ वटाको मदन पुरस्कार श्रेष्ठ सूची सार्वजनिक गरेको थियो।
जसमा गिरि श्रीस मगरको एकलव्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, भैरवबहादुर थापाको नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेसन कुँवरको रमिते र इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह रहेका थिए।
वि.सं. २०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले पहिलो पटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत उत्पादक’ पुस्तकलाई पुरस्कार प्रदान गरेको थियो। २०४५ सालमा रानी जगदम्बाको निधन भएपछि उनको सम्झनामा जगदम्बाश्री पुरस्कार स्थापना गरिएको थियो। सो पुरस्कार पहिलो पटक नारायणगोपाल गुरुवाचार्यलाई प्रदान गरिएको थियो।