–धिरज बराल
एक दिन एक जना राजा थाकेर निराश मुद्रामा ओछयानमा पल्टिरहेका थिए । उनको दृष्टि पलङको मास्तिर भित्तोमा म्यानमा टाँगिएको तरबार र त्यसैको तलपट्टि कलमदानीमा अड्याइएको एउटा कलममा थियो । अचानक उनलाई तरबारले केही बोले जस्तो लाग्यो । उनले कान थापेर सुने । त्यसबेला तरबारले फुर्ती लाउँदै थियो ।
‘विद्यालयमा धेरै पटक तरबार शक्तिशाली कि कलम शक्तिशाली भन्ने विषयमा बहस छेडिएको सुन्दा सुन्दा तिम्रो आँट बढे जस्तो छ, कलम मित्र ! दिवा स्वप्न देख्न छोडिदेऊ । तिमी जस्तो प्रयोगविहीन भएर म बसेको छैन । आज पनि कैयौँको शिर छेदन गरेर आएको छु अनि दुस्मनहरूलाई आक्रमण गरेर लखेटेर आएको छु । त्यसैले म भन्छु म शक्तिशाली हो !’
तरबारको घमण्डमा कलम केही बोलेन । ऊ निरीह भएर बस्यो ।
भोलिपल्ट सबेरै राजा बाहिर निस्कन तम्तयार भए । तर त्यस दिन उनले कम्मरमा तरबार भिर्नुको साटो कमिजको खल्तीमा कलम भिरेर निस्के । साँझ उनी घर फर्के । कलमदानीमा कलम राखेपछि उनी मिठो आशा बोकेर ओछ्यानमा पल्टिए । उनको दृष्टि फेरि भित्तोतिर पर्यो । आज पनि उनलाई कसैले केही बोले जस्तो लाग्यो । उनले भित्तोतिर कान थापे । त्यसबेला कलम विनयशील भएर केही भनिरहेको थियो ।
‘प्रिय तरबार मित्र, तिमी हरेक कोणबाट वास्तवमै ठूला रहेछौ । किनभने धडबाट अलग भएका शिरलाई जोड्न बाहेक तिमीले जस्तो मैले कसैको पनि शिर छेदन गर्न सकिनँ । दुस्मनहरूलाई शान्ति सम्झौताका लागि स्वागत गरेर आउनु बाहेक तिमीले जस्तो आक्रमण गरेर उनीहरूलाई लखेट्न पनि सकिनँ । मलाई माफ गर, तरबार मित्र !’
तरबार झन् घमण्डले फुल्यो ।
‘हा… हा… हा… हा… हा… !’ उसको भयङ्कर हाँसोको आवाजले राजाको कान फुट्ला झैँ भयो ।
म्यानसहितको तरबार झुण्ड्याइएको भित्तो भोलिपल्ट खालि थियो । टेबुलको कलमदानी टेबुलमै थियो । कमिजको खल्तीमा कलम भिरेर राजा मस्त निदाएका थिए ।