- समाचार
साहित्यकार एवम् सञ्चारकर्मी दाहाल यज्ञनिधिको तेस्रो स्मृति सभा भर्चुअल माध्यमबाट यही २०७८ श्रावण २५ गते दाहाल यज्ञनिधि स्मृति सभा काठमाडौँ र साहित्यसागर डटकम अमेरिकाको संयुक्त आयोजनामा सम्पन्न भयो ।
कार्यक्रमको परिचय/सञ्चालन नीलम कार्की निहारिका, दाहाल यज्ञनिधिको आवाज प्रस्तुत, साहित्य संसार कार्यक्रम सञ्चालन गर्दाको स्मरण गराउँदै कार्यक्रम अगाडि बढाइन् । रमेश भुभेच्छुको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार निनु चापागाईँ थिए ।
सभानायक रमेश शुभेच्छुबाट दाहाल यज्ञनिधिका विभिन्न विशेषताहरू, कृतिहरू, विचारहरू आदिबारे चर्चा गर्दै कार्यक्रममा सहभागीहरूप्रति स्वागत मन्तव्य प्रस्तुत गरे । दाहाल यज्ञनिधि दाहाल स्मृति पुरस्कारबाट यस वर्ष पुरस्कृत कैलाश मा.वि. सिमीकोट हुम्ला (संस्था) र सावित्री कार्की (व्यक्ति) को परिचय पनि प्रस्तुत गरिन् । उनले दाहालको क्रान्तिकारी, विद्रोही र परिवर्तनगामी व्यक्तित्व भएको बताइन् । देवु लुइँटेलले ‘झरी’ शीर्षकको दाहाल यज्ञनिधिको कविता वाचन भएको थियो भने गायिका लोचन भट्टराईबाट– दाहाल यज्ञनिधिको रचना ‘मेरो देशको भर्सेलीमा…’ को गायन भएको थियो ।
कार्यक्रममा एन. आर. एन प्रतिनिधि हिक्मत थापाले यज्ञनिधिप्रति श्रद्धाञ्जलि मन्तव्य राख्दै उनको आवाजको प्रशंसा गरे । सृजना शर्माले दाहाल यज्ञनिधिसँग साहित्य संसार कार्यक्रम सञ्चालनका क्रममा रेडियो नेपालमा काम गर्दाको समयलाई आफ्नो सौभाग्यको रूपमा स्मरण गर्दै श्रद्धाञ्जलि मन्तव्य राखिन् । सहआयोजक संस्था साहित्यसागरका प्रबन्ध सम्पादक सुरेन उप्रेतीले ठेट भाषाका प्रयोगकर्ता दाहाल यज्ञनिधिले राज्यबाट धेरैजसो उपेक्षित हुनु परेको स्मरण गर्दै उनको स्मृतिमा कोष व्यवस्थापन गरी रचनात्मक काम गर्नुपर्ने बताए । अनेसासका उपाध्यक्ष गोवद्र्धन पूजाले दाहालसँगको भेटको स्मरण, अनामनगरको प्रसङ्ग र अन्य प्रसङ्गसहित श्रद्धाञ्जलि अर्पण गरे ।
कार्यत्रममा निनु चापागाईंले सावित्री कार्कीलाई सम्मान अर्पणको घोषणा, नगद २५०००/– सहित गरे । सो सम्मानपत्र वाचन गीता सापकोटाबाट भएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार हरिहर खनाल र प्रकाश सिलवालबाट श्रद्धाञ्जलि मन्तव्य प्रस्तुत भएको थियो भने प्रमुख अतिथि निनु चापागाईंले प्रमुख आमन्त्रितको पदीय मन्तव्यको क्रममा दाहाल यज्ञनिधिसँग सम्बन्धित साहित्य संसारका उनका २०३६–२०५६ सम्मका केही स्मरण उल्लेख गर्दै उनको बहुमुखी व्यक्तित्वको चर्चा गरे ।
कार्यक्रममा पुरस्कृत व्यक्ति सावित्री कार्कीले दाहालका नामको सम्मान पाउनुलाई सौभाग्यका रूपमा लिएको र यस रकमबाट थप कृति प्रकाशन गर्दै जाने विचार राखिन् । कार्यक्रमा आयोजकका तर्फबाट धन्यवाद ज्ञापनसहित मणि नेपाली पनेरुले श्रद्धाञ्जलि मन्तव्य राखेका थिए भने दाहाल यज्ञनिधिकी जीवनसँगिनी सुधा दाहालले उपस्थित सबैमा धन्यवाद अर्पण गरिन् ।
नीलम कार्की निहारिकाले सहजकर्ताको जिम्मेवारीबाट विदा लिएपछि औपचारिक रूपमा सभा सम्पन्न भयो । कार्यक्रममा अनौपचारिक रूपमा केही श्रोता प्रतिक्रिया पनि भएको थियो । कार्यक्रममा पूर्वमन्त्री त्रिलोचन ढकाल, सुधा दाहाल, डा. बमबहादुर थापा, जिताली, गोवद्र्धन पूजा, हरिहर खनाल, खोलाघरे साहिंलो, प्रकाश सिलवाल, गीता सापकोटा, दिनेश लुइँटेल, गंगा लिगल, देवु लुइँटेल, धात्रीप्रसाद, हरिप्रसाद गौतम, होमनाथ दाहाल, देशु लुइँटेल, सावित्री कार्की, जयप्रकाश यादव, निरञ्जन चापागाईं, सुरेन उप्रेती, विश्वनाथ माझी, मधु श्रेष्ठ, विनोद तिवारी, हिक्मत थापा, जीवा दाहाल, केशव ज्ञवाली, ललिता पौडेल, सुमन दाहाल, टीका पौडेल, सृजना शर्मा, डिल्लीराम चापागाईं परदेशी, सरिता कोइराला, शिवहरि पाण्डे, सन्तोष निरा, बिना बञ्जारा, बिना न्यौपाने, लोचन भट्टराई, लीला सुवेदी, मञ्जु अधिकारी, नारायण होमगाईं, निश्चल सुवेदी, नैनबहादुर बस्नेत, शिव कोइराला, प्रकाश पाण्डे आदिको सहभागिता रहेको थियो ।