- सम्पादकीय
हामी आर्थिक रूपले कमजोर हौँला तर प्रकृति र लोकसंस्कृतिले सम्पन्न छौँ । हामीसँग अनेक लोकोक्तिहरू छन् । हाम्रा पुर्खाका अनुभवहरू छन् । लोक संस्कृतिका बहुमुखी पक्षहरू छन् । कृषि सभ्यतासँग जोडिएका यन्त्रकला, सिप र अनुभवहरू छन् । यिनको खोज, संरक्षण र प्रयोग गर्न सके नेपाली मौलिकपनको प्रवर्द्धन हुने थियो । हामी हाम्रा मौलिक विचार निर्माण, मौलिकपनको प्रवर्द्धन भन्दा पनि आयातीत विचार र आयातीतपनका पछाडि लागिरहेका छौँ । हाम्रो समाजको चरित्र जस्तै साहित्य सिर्जना गर्न सकिरहेका छैनौँ । साहित्यको विषय र शैली पनि आयातीत पक्षमै केन्द्रित छ, सिर्जनामा पनि र समीक्षामा पनि । यो अवस्था कलाका अन्य पक्षहरूमा पनि सङ्क्रमित छ ।
साहित्यको मात्र कुरा गर्दा नेपाली भषा साहित्यले निकै लामो इतिहास बनाइसक्ता पनि हामीले यसको मौलिक काव्यशास्त्र बनाउने र मौलिक विम्ब र विषयमा साहित्य सिर्जना गर्ने वातावरण बनाउन सकेनौँ । यो हाम्रो कमजोरी हो । हामीले यतिबेलासम्म हाम्रो मौलिक काव्यशास्त्र बनाइसक्नुपर्थ्यो । हाम्रा मौलिक विषयवस्तुको साहित्य सिर्जना गरेर विश्व साहित्यमा पुर्याइसक्नुपर्थ्यो । हाम्रा अनुसन्धाताहरूलाई सैद्धान्तिक जग र सिर्जनात्मक जग पनि निर्माण गरिदिनुपर्थ्यो । हामी त्यसो गर्न सकिरहेका छैनौँ । हाम्रो शिक्षा र अभ्यास त्यतातिर लम्कन सकिरहेको छैन । अबको सिर्जना र समीक्षा यसतर्फ केन्द्रित होस् भन्ने कामना गरौँ ।
साहित्यसागरले सकेसम्म मौलिक रचना, लोकअनुभव, लोकोक्ति, लोकसंस्कृति र नेपालीपनलाई विश्व समुदायमा पुर्याउन चाहेको छ । हामीलाई विश्वास छ हामीले पस्किएका सामग्रीले सिङ्गो नेपाललाई विश्वमा चिनाउने छ ।
-सम्पादक