सुविद गुरागाई (२०२४ कार्तिक ०५, बबिया–३ सुनसरी) साहित्य एवम् सञ्चार क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनी विद्यालय तहको छात्र छँदैदेखि साहित्यप्रति आकर्षित थिए । २०४५ मा ‘ढुङ्गै–ढुङ्गाको यथार्थ’ कवितासहित मधुपर्कमार्फत साहित्यिक जगत्मा सार्वजनिक भएका गुरागाईं अहिले साहित्य र सञ्चार क्षेत्रमा सक्रिय छन् । उनी मूलतः गजलकार एवम् गीतकार प्रतिभा हुन् । उनका जूनको आगो (गजल–सञ्चयन), ट्रकसाहित्य (सङ्कलित सिर्जनाहरू), बुबा (सम्पादित उपन्यास),. ‘नलाएको माया’ (गजल एल्बम) कृति प्रकाशित छन् भने ‘फन्टुस फिक्सन’ उपन्यास प्रकाशोन्मुख रहेको छ । गुरागाईँले प्रयास हवाईपत्रिका सम्पादन गरेका थिए । उनले साहित्य सिर्जनावापत राजेश्वर रेग्मी गजल पुरस्कार २०७६ प्राप्त गरेका छन् । उनीसँग नागरिक दैनिकलगायत राष्ट्रिय पत्रपत्रिकाको सम्पादन अनुभव छ । अहिले उनी कोसी अनलाइन सञ्चारमाध्यमका सम्पादकका रूपमा सक्रिय छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘जो हुन्छ मुटुमा बिझाउने’ गजल समेटिएको छ । यस गजलमा जस्तोसुकै परिस्थितिमा पनि प्रेम गरिरहने प्रेमीको बयान गरिएको छ । – सम्पा. |
जो हुन्छ मलाई मुटुमा बिझाउने
उसैलाई हो मैले सधैँ मन पराउने ।
दुनियाँ होस् बैरी तथापि मायाले,
नगर्नू कुनै काम दुनियाँ हँसाउने ।
आफैँले हो मैले बनाएको भगवान्,
त्यही नै कारण भो मलाई रुवाउने ।
रुवाओस् सधैँभर दुखाओस् जति नै,
अधिकार छ उसको मलाई सताउने ।