काठमाडौँ — कोभिड–१९ का कारण लकडाउन हुँदा मिडिया आर्थिक रूपले समस्यामा परेको र त्यसबाट पत्रकारहरू प्रभावित भएको एक अध्ययनले देखाएको छ । सेन्टर फर मिडिया रिसर्च – नेपालले प्रकाशन गरेको ‘महामारीमा मिडिया’ प्रतिवेदनले यस्तो देखाएको हो ।
प्रतिवेदनमा लकडाउनका बेला केन्द्र र जिल्लाका विभिन्न छापा माध्यम बन्द भएको, रेडियो, टेलिभिजनमा कार्यक्रम कम भएको, विज्ञापन कमी भएको, आमसञ्चार माध्यमको आम्दानी घटेको, पत्रकारहरूलाई जागिरबाट निकालिएको, समयमा पारिश्रमिक नपाएको, पारिश्रमिक घटाइएको, बिदा दिइएको, बिना पारिश्रमिक पनि पत्रकारले काम गरेको उल्लेख छ ।
प्रतिवेदनअनुसार प्रकाशन तथा प्रसारण भएका आमसञ्चार माध्यमहरूका लागि सामग्री संकलन गर्न कठिनाइ भएको र त्यसको प्रभाव गुणस्तरमा समेत परेको थियो । कोभिड १९ बाट पत्रकार संक्रमित हुनुका साथै निधन भएको, पत्रकारमा मनोवैज्ञिनक असर परेको, पत्रकारिताको भविष्यप्रति अन्योल सिर्जना भएको पनि उल्लेख छ ।
आर्थिक समस्या र स्वास्थ्य संवेदनशीलता हुँदाहुँदै पनि पत्रकारहरू समाचार संकलन तथा प्रकाशन तथा प्रसारणमा खटिएको पनि अध्ययनमा छ ।
प्रतिवेदनले विपद्लाई सामना गर्ने गरी नेपाली मिडियाको पूर्वतयारी नभएको र त्यसो हुँदा मिडिया सञ्चालक र पत्रकार मारमा परेको पनि देखाएको छ । छापा माध्यमका सञ्चालकले अनलाइनलाई जोड दिएको र जागिर गुमाएका पत्रकारले अनलाइनलाई विकल्पका रुपमा लिएको पनि प्रतिवेदनमा उल्लेख छ । अध्ययनका क्रममा मिडिया सञ्चालक, पत्रकारसहित एक सय ४६ जनासँग अन्तर्वार्ता लिइएको थियो ।
सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष ऋषिकेश दाहालले गुणात्मक विधि अपनाएर तयार पारिएको रिपोर्टले लकडाउनका बेला सातवटै प्रदेशका मिडिया र पत्रकारले भोग्नु परेका समस्या तथा चुनौतीलाई मिहिन रुपमा बुझ्न सहयोग पुग्ने बताए ।
प्रतिवेदन सार्वजनिक गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोभिड–१९ बाट थिलोथिलोमा परेको मिडिया क्षेत्रको पुनर्उत्थानका लागि अभियान नै चलाउनुपर्ने बताए ।