नीलम कार्की निहारिका नेपाली आख्यानमा परिचित नाम हो । उहाँको चौथो औपन्यासिक कृति ‘द्रौपदी अवशेष’ भर्खरै बजारमा आएको छ । यसअघि लेखिएका ‘अर्की आइमाई’, ‘चिरहरण’, ‘योगमाया’ तीनवटै उपन्यास कृतिमा सफलता प्राप्त गरिसक्नुभएकी उपन्यासकार नीलमका आख्यानहरूबाट नेपाली साहित्यका पाठक स्वयं जानकार छन् । उहाँको पहिलो उपन्यासमा अमेरिकाका नेपाली डायस्पोरा अर्थात् अमेरिकामा बस्ने आप्रवासी नेपाली समाज र शोषणमा परेकी नारीको जीवन भोगाइलाई प्रस्तुत गरिएको छ । दोस्रो उपन्यासमा आजका सचेत नारीको दृष्टिकोणबाट महाभारतको पुनव्र्याख्या गरिएको छ । यसैगरी उहाँको तेस्रो उपन्यासमा नेपालको ऐतिहासिक पात्र योगमायाको जीवनसङ्घर्ष र जीवन दर्शनलाई विषय बनाइएको छ । यसरी हेर्दा नीलमका यसअघिका तीनवटा उपन्यासमा नारी चरित्र र नारी विषय प्रमुख भएर आएका छन् । तर, उहाँको यो पछिल्लो ‘द्रौपदी अवशेष’ उपन्यास भने अघिल्ला कृतिभन्दा नितान्त पृथक् विषय र प्रस्तुतिका साथ आएको छ ।
प्रस्तुत उपन्यासमा नेपालको पश्चिमी भेगका उच्च हिमाली क्षेत्रको समाज र लोपोन्मुख अवस्थामा रहेको हिमाली संस्कृतिलाई मुख्य विषय बनाइएको छ । यसरी हेर्दा उपन्यासकार नीलमका उपन्यासहरू डायस्पोरा, पौराणिक, ऐतिहासिक हुँदै अहिले सामाजिक तथा सांस्कृतिक विषयमा केन्द्रित हुन पुगेको छ ।
हिमाली, पहाडी र तराई गरी मुख्य रूपमा नेपालमा तीन प्रकारका भूगोल, समाज र संस्कृति छन् । नेपाली साहित्यमा र अझ विशेष गरी आख्यानात्मक कृतिहरूमा पहाडी र तराईली समाज र संस्कृतिको प्रतिविम्बन प्रशस्त रूपमा भए पनि हिमाली संस्कृतिमा केन्द्रित भएर लेखिएका आख्यानात्मक कृतिहरू ज्यादै न्यून छन् । राज्यका विभिन्न सेवा र सुविधाहरूबाट वञ्चित भएझैँ यी भेगका समुदायहरू साहित्यमा पनि धेरै अटाउन सकेका छैनन् । साहित्यका अन्य विधामा हिमाली समाज र संस्कृतिका विषयहरू आए पनि आख्यानमा भने कमै आएको पाइन्छ । डोरबहादुर विष्ट, सरुभक्त र नयनराज पाण्डेलगायत स्रष्टाका आख्यानहरूले हिमाली जनजीवनलाई केही मात्रामा आमपाठकसामु ल्याए पनि यसबारे लेखिन बाँकी प्रशस्त विषय छन् । यसै कुरालाई आत्मसात् गरी उपन्यासकार नीलमले हिमाली संस्कृतिको एउटा महìवपूर्ण विषयलाई यस उपन्यासमा जीवन्त रूपमा प्रस्तुत गर्नुभएको छ ।
उच्च हिमाली क्षेत्रमा लोपोन्मुख अवस्थामा रहेको बहुपति विवाहको संस्कृतिलाई मुख्य विषय बनाइएको यस उपन्यासमा त्यससँगै जोडिएर आएको न्येलु प्रथा र हुम्ली लामाहरूको सामाजिक संस्कार र जीवनशैलीका विविध सन्दर्भहरू पनि आएका छन् । कर्णालीका विकट क्षेत्रका सामाजिक, सांस्कृतिक र प्राकृतिक पक्षका बारेमा प्राप्त गरेका जानकारीलाई कलात्मक बनाएर आफ्नै भोगाइ र अनुभूति व्यक्त गरे जसरी जीवन्त रूपमा अभिव्यक्त गर्न सक्नु नै उपन्यासकारको सफलता हो । सहरबाट जागिरको क्रममा हिमाली गाउँमा पुगेको दिग्विजय उपन्यासको समाख्याता हो र उसको हिमाली संस्कृतिप्रतिको रुचि र उत्सुकताले नै उपन्यासका पात्रहरूलाई डो¥याएका छन् । ग्याल्जन, पेमा, नुर्बु, वाङ्दी, बूढी आमै र यिनसँग जोडिएर आएका पात्रहरूको जीवनको कथा नै उपन्यासको कथानक हो ।
उपन्यासमा समाख्याताबाहेक अरू सबै पात्र र परिवेश हिमाली गाउँकै प्रयोग गरिएको छ । यसले गर्दा पनि उपन्यास पढ्दा पाठकलाई आफू पनि त्यही स्थानीय गाउँमा हिउँ पन्छाउँदै चट्टानमाथि हिँडिरहेको आभास हुन्छ । अनि, थकित र व्यथित ग्याल्जनसँगै बसेर उसको कुरा सुनिरहेको अनुभूति हुन्छ । स्थानीयतालाई प्रभावकारी रूपमा चित्रण गरिएकाले यो आञ्चलिक उपन्यासका रूपमा पनि देखिन्छ ।
ग्याल्जन र पेमा यस उपन्यासका मुख्य पात्र हुन् । पेमा ग्यालजनको प्रेमिका पनि हो । दाइले बिहे गरेर ल्याएपछि भाउजूलाई नै श्रीमती मान्नुपर्ने चलन ग्या(ल्जनलाई त्यति राम्रो लाग्दैन । उसले आफ्नी भाउजूलाई कहिल्यै पनि पत्नीका रूपमा स्वीकार्न सक्दैन । सानै हुँदा आमा मरेको र त्यसैबेला दाइले भाउजू ल्याएकाले भाउजूमा उसले आमाको रूप देख्ने गरेको बताउँछ । ग्याल्जनले नोर्बुसँग बिहे गरेर आएकी पेमालाई प्रेम गर्छ । पेमाको सुख दुःखमा संवेदित हुन्छ । उसको बाहेक अरूको बारेमा कहिल्यै सोच्दैसोच्दैन र पनि ऊ यो कुरा पेमालाई भन्दैन । मनैमनले बुझ्छन् उनीहरू यी कुरा । यहाँ ग्याल्जन र पेमाका माध्यमबाट प्रेमको आत्मिक र पवित्र रूपलाई देखाइएको छ । मैले पेमा ल्याएर के गर्न सक्छ ? न उसलाई टाउकोमा थाइकोर लाइदिन सक्छ, न कानमा आइकोर । घाँटीमा ह्याचेसम्म पनि जीवनभरमा जोर्दिन सक्दोइन । कसले ओढाइदिन्या थ्यो केराक्ची उसलाई ? कसले दिन्या छ्याक्से ? कम्पनी माला, ओल्दाक केही पनि त हुँदोइन पेमासँग । पृ.१४५ प्रेम गरेको मान्छेलाई बिहे नै गर्नुपर्छ भन्ने मान्दैन ग्याल्जन । उसलाई खुसी र साथ दिनुलाई नै प्रेम मान्ने एउटा हिमाली युवकको निश्चल प्रेमले पाठककलाई संवेदित बनाउँछ ।
हिमाली समाजका मान्छेका जीवनशैली र संस्कृतिलाई प्रस्तुत गर्ने क्रममा पात्रलाई नै बोल्न लगाउनु यस उपन्यासको प्रमुख विशेषता हो । समख्याताबाट भन्दा पात्रका माध्यमबाट वर्णन गरिएको यथार्थ अझ बढी प्रभावी र जीवन्त भएर आएको छ ।
भारी पुगाउन हिँडन्याको कति लडेर ज्यान जान्छ । कहिले गोठ बस्न गयाका मुन्छे पनि नफर्किन्या । अहिले त यस्तो छ । पहिला–पहिला झन् कस्तो हुँदा थियो होला ? आँखा जति देख्या, यो गाउँको अन्न फल्ने जमिन हो । छन त जमिन ती डाँडा पनि छन् । तर ती हिउँ फुल्नका लागि मात्र काम आउँछ । बर्खाका बेला एक बाली रोप्न्या हो । छ महिना हिउँले कब्जा गर्छ । कसरी बस्या होला हाम्रा पुर्खा ? समस्यामा समाधान खोज्न्या हो । खाने मुख धेरै नबढाउन्या भनेर सबै भाइको एक जोई ल्याउने चलन बस्या हो भन्या जसो छ । अरू कुरा म जान्दैन सर । पृ.७१ ग्याल्जनको प्रस्तुत यो अभिव्यक्ति नै यस उपन्यासले देखाउन खोजेको मुख्य कुरा हो । बहुपति प्रथाका बारेमा यहाँ प्रस्तुत गरिएको कुरा नै यस संस्कृतिको मुख्य कारणका रूपमा देखिन्छ । धेरै जनसङ्ख्या नहोस् र यहाँ उत्पादित खाद्यान्नलगायत यहाँका स्रोत र साधनले पुगोस् भन्ने उद्देश्यले पुर्खाहरूले यो प्रथा चलाएको कुरा उपन्यासमा प्रस्तुत गरिएको छ ।
मानवीय सभ्यता र संस्कृतिको विकासमा भूगोलले महìवपूर्ण भूमिका खेलेको हुन्छ । भूगोल, माटो र हावापानीअनुसार नै संसारका मानवीय सभ्यता विकास भएको हुन्छ र त्यसैअनुरूपको संस्कृतिको निर्माण भएको हुन्छ । यही यथार्थलाई यस उपन्यासमा देखाइएको छ । उपन्यासमा प्रयुक्त पात्रले बहुपति विवाहको सम्बन्धमा दिएको अभिव्यक्ति हेर्दा यो कुनै कुसंस्कार र कुप्रथाका रूपमा नभई उच्च हिमाली जनजीवनको सहजताका निम्ति तिनका पुर्खाले चलाएको संस्कृति हो भन्ने बुझिन्छ । यसरी हिमाली संस्कृति र प्रकृतिको चित्रणलाई गम्भीर रूपमा प्रस्तुत गरिएको यस उपन्यासले हिमाली जनजीवनको यथार्थलाई आम पाठकमाझ ल्याइदिएको छ ।
उपन्यासको नाम ‘द्रौपदी अवशेष’ राखिए पनि महाभारतमा वर्णित बहुपतिकी पत्नी द्रौपदीको सन्दर्भ र हिमाली संस्कृतिमा प्रचलित बहुपति प्रथाको सन्दर्भ भने नितान्त भिन्न छ । दाजुभाइकी एउटै साझा पत्नी हुने भएकाले झट्ट हेर्दा यी दुवै उस्तै देखिन्छ । तर पौराणिक द्रौपदी पाँच भाइकी पत्नी बन्नुको कारण र हिमाली भेगका नारीहरू बहुपतिकी पत्नी बन्नुको कारणलाई तुलना गरेर हेर्दा कतै पनि समानता देखिँदैन । महाभारतमा वर्णन गरिएको सन्दर्भ कुनै प्रथा र परम्परा होइन तर नेपालको हिमाली भेगमा लोपोन्मुख अवस्थामा रहेको यो परम्परा भने पुर्खाले नै निर्माण गरेको एउटा संस्कृति हो । त्यसैले उपन्यासको नाम ‘द्रौपदी अवशेष’ राखिनुमा उपन्यासकारको पौराणिक मिथक पात्रहरूप्रतिको रुचि र त्यसको प्रभाव हो भन्न पनि सकिन्छ । नेपाली समाजको फरक परिवेश, पात्र, विषय र रोचक प्रस्तुति रहेको यो उपन्यास नेपाली आख्यानको एउटामा प्राप्ति हो भने नेपाली पाठकहरूका लागि पठनीय औपन्यासिक कृति हो ।