मदन पुरस्कार विजेता (२०७०) लेखक राधा पौडेलको नयाँ पुस्तक ‘रोल नम्बर एक’ बजारमा आएको छ । बाल्यकालीन स्मृतिलाई निबन्धको शैलीमा लेखिएको पुस्तकले किशोर–किशोरीको मनोविज्ञानलाई केन्द्रमा राखेको छ ।
लेखक पौडेलले आफू किशोरी छँदा घरपरिवार तथा विद्यालयमा भोग्नुपरेका तीतामीठा घटनालाई केलाएर नेपाली शिक्षा प्रणालीको खोटसमेत देखाएकी छन् । सांग्रिला बुक्सले प्रकाशन गरेको रोल नम्बर एकमा तेह्र वटा संस्मरण समेटिएका छन् ।
बाल्यकालको संस्मरणको रचनागर्भबारे लेखक पौडेल :
आज म जे छु त्यसको जग के थियो भन्ने कुरा यो पुस्तकमा छ । बाल्यकालको स्मरण भए पनि यो पुस्तक बालबालिकाको लागि मात्र होइन, सबै उमेर समूहका लागि पढ्न उपयोगी हुने विश्वास लिएकी छु । बाल–मनोविज्ञान कस्तो हुन्छ भन्ने कुरा बुझ्न चाहनेका लागि पनि यो पुस्तक सहयोगी होला भन्ने ठानेकी छु ।
अर्कोतर्फ नेपालको शिक्षा प्रणालीभित्रका खोट खोतल्ने प्रयास गरेको छु । शिक्षकको भूमिका कस्तो हुनुपर्छ, अभिभावकको भूमिका के र समुदायको भूमिकाबारे पनि चर्चा गरेको छु । जस्तो, म किशोरी हुँदाको समयमा महिनावारी हुनुलाई पाप हो भन्ने गरिन्थ्यो । छोरीहरूको दुनियाँमा कुनै मूल्य नै छैनजस्तो गरिन्थ्यो ।
‘ए छोरीहरू त एकदमै मूल्यविहीन हुँदा रहेछन्’ भन्ने कुराले मलाई घोर हीनताबोध दियो । यसलाई मैले विस्तारै चिन्तन गर्न थालें । आज आएर सोच्छु, छोरीहरूलाई किशोरावस्थाको बेलामा नै आत्मविश्वास, आत्मसम्मान विकास गर्नको लागि ६ देखि १२ वर्षसम्मको उमेर एकदमै महत्त्वपूर्ण हुने रहेछ । त्यहीबेला उनीहरूलाई ‘महिनावारी भएकै कारण तिमीहरू शक्तिशाली छौ’ भन्ने कुरा मात्रै बुझाउन सक्यो भने उनीहरूको जीवन सबल बन्छ ।
तर यी सबै कुरा किशोरीहरूलाई मात्र लाद्ने होइन, किशोरहरूलाई पनि तिमीहरू यही महिनावारीका कारण जन्मिएका हौ भनेर बुझाउन सकियो भने समानताको भाव उत्पन्न हुन्छ । पुरूषहरूमा दाह्रीजुँगा आएजस्तै महिलाहरूको पनि महिनावारी हुन्छ भनेर बुझाउन सकियो सक्नु ठूलो उपलब्धि हो । जुन काम हाम्रो शिक्षामा भएकै छैन ।
यसैले मलाई के महसुस हुन्छ भने यो पुस्तक हाम्रा शिक्षक, अभिभावकले पढ्नुभयो भने पक्कै उपयोगी हुनेछ । मेरा अनुभवले तपाईंलाई केही सोच्न बाध्य पार्नेछ ।
आज भएका महिला हिंसा नै हेरौं, एक सयवटा घटनामा ९३ वटा घरभित्रैबाट हुन्छ । त्यसमध्ये ८२ जना आफ्नै चिनेजानेका मानिसबाट हुन्छ । यसले के कुरा स्थापित गर्छ भने छोरीहरूलाई सिकाइको लागि त घरपरिवार नै सुरक्षित रहनुपर्छ ।
यो पुस्तक लेख्नुपछाडिको कारण पनि रोचक छ । म २०७४ सालमा जुम्लामा घोडाबाट लडें । त्योबेला मलाई निकै चोट लाग्यो जतिबेला मेरो एउटा हात मात्र राम्रोसँग चल्थ्यो । त्यतिबेलै मलाई प्राथमिक शिक्षा सबैभन्दा महत्त्वपूर्ण हो तर त्यो नै सबैभन्दा कमजोर छ भन्ने कुराले मनमा हिर्कायो । त्यहीबेलादेखि यो विषयमा सोचेर पुस्तक लेख्न थालेको हुँ ।
मलाई के लाग्यो भने मसँगै पढेका साथीहरूले एसएलसीसम्म पनि दिएनन् । जसले अलिअलि पढे तिनले उच्च शिक्षा लिन पाएनन् । यो सबै किन भयो भन्ने कुराले मलाई सोचनीय बनायो । त्यहीबेलादेखि बाल्यकाललाई नै केन्द्रमा राखेर संस्मरण लेख्न थालें ।
हामीले आफ्नो कथा आफैं लेख्नुपर्छ । जस्तो, अहिलेको शक्तिशाली महिला भनेको कमला ह्यारिस हुन् । तर उसको कथा हामीले पढ्नुपर्दैन । किनभने सञ्चारमाध्यम तथा उसका समाचारबाटै धेरै कुरा थाहा भइसकेको हुन्छ । तर हामीजस्तो सामान्य महिला वा सामान्य मानिसको बाल्यकाल कस्तो थियो, कुन संघर्षबाट हामी उदाएको हो भन्ने कुरामा भ्रम हुन्छ । साँचो कुरा के थियो जान्नका लागि त हामीले आफैंले लेख्नुपर्ने रहेछ । आफ्नो कुरा आफैं लेख्नुपर्ने रहेछ ।
मेरो कथा आजै थाहा भयो भने पो उत्पे्ररक हुन्छ । म मरिसकेपछि मलाई चिनेका मानिस वा कसैले मेरो संस्रमण, जीवनी लेख्यो भने त्यसले प्रभाव पार्दैन । कसैलाई प्रभावित बनाउन सक्दैन । यही कारणले आफ्ना कुरा आफैं लेख्नुपर्छ भन्ने मान्यतामा म अडिग छु ।