काठमाडौँ — साहित्यकार मालिका केशरीको उपन्यास ‘दुङाल’ सार्वजनिक भएको छ । तिब्बती शरणार्थीको कथा भन्ने उपन्यास बौद्ध दर्शनमा आधारित छ ।
किताब इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका केशरीले संयुक्त रुपमा विमोचन गरे ।
कार्यक्रममा पूर्व स्वास्थ्यसचिव डा. शर्माले पुरुष लेखक भएर पनि महिलाका भावनाको गहिराइभित्र पसेर शरणार्थीको कथा भन्न सक्नु उपन्यासको सफलता भएको बताइन् । भनिन्, ‘शरणार्थी केटी कार्चुङको कथा लेखककै नजरबाट हेरिएको छ । लेखक संवेदनशील हुने हो भने महिला पात्रले न्याय पाउने रहेछन् । अरु लेखक पनि मालिका केशरीजस्तो हुने हो भने मानवअधिकारमा पनि सुधार हुने रहेछ ।’
मानवअधिकारवादी पाठकले उपन्यासले शरणार्थीको मानवअधिकार, न्याय र आत्मसम्मानका कुरा उठाएको बताए । ‘उपन्यास पढ्दा पाठकलाई हरेक घटनामा आफू पनि सँगै रहेको भान हुन्छ’, उनले भने, ‘आप्रवासन या शरणार्थी हुनु रहर नभएर बाध्यता भएको कुरा उपन्यासले राम्ररी स्थापित गरेको छ ।’
इतिहासकार डा. ढुंगेलले ‘दुङाल’ले लगभग हराउन थालेको शरणार्थी समस्यालाई साहित्यमार्फत बोलेको बताए । उनले भने, ‘उनीहरुका दुःख, पीर, वेदना र उकुसमुकुसलाई दुङालले अभिव्यक्त गरेको छ । आँखैले देखेजस्तो छ हरेक घटना ।’
बाल्यकालदेखिकै शरणार्थी शिविरसँगको सामीप्यताका कारण ‘दुङाल’ जन्मेको आख्यानकार मालिका केशरीले बताइन् । ‘देशमा बस्न नसकेपछि जीवन खोज्दै यहाँ आइपुगेका शरणार्थीप्रति हामीले गरेको व्यवहार सही छन् त भन्ने प्रश्नले घचघचाएपछि उपन्यास नलेखी बस्न सकिनँ,’ उनले भने ।
मालिका केशरीका यसअघि बौद्ध दर्शनमा आधारित उपन्यास ‘पुनरुत्थान’ र ‘सुवर्णलता’ प्रकाशित छन् । सांग्रिला बुक्सले प्रकाशन गरेको ‘दुङाल’ केशरीको तेस्रो उपन्यास हो ।