साहित्यसागरमा कुनै विषयसम्बन्धीको गहिरो विचारलाई विमर्श स्तम्भमा राखिँदै आएको छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा प्रा.डा. पद्म देवकोटाको विचारलाई समेटिएको छ । देवकोटा नेपाली साहित्य र अङ्ग्रेजी साहित्यका विशिष्ट लेखक एवम् शिक्षासेवी व्यक्तित्व हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘सपनाको रसायनउपर चर्चा’ शीर्षकको लघुरचना समेटिएको छ । यस विमर्शले पञ्चतत्वका आधारमा साहित्यिक कृतिको अध्ययन विश्लेषण गर्न सक्ने पक्षलाई देखाएको छ । विद्वान्हरूका ससाना यस्ता दृष्टिकोण पनि नेपाली साहित्यका लागि लाभदायी हुने विश्वास साथ यहाँ प्रस्तुत गरिएको छ । हाम्रो मौलिकता संरक्षणमा यस्ता विचारहरू सहायक हुने देखिन्छ । -सम्पा. |
नेपाली साहित्य समालोचनामा मलाई थाहा भएसम्म कसैले पनि लेखक र कृति बुझ्न पञ्चतत्त्वमा आधारित सिद्धान्त अगिसारेको छैन । कसैले त्यस्तो सिद्धान्त अगिसारेको भए तपाईंको प्रतिक्रिया कस्तो हुन्थ्यो ?
फ्रान्सका गास्तोँ बाशलार (Gaston Bachelard १८८४–१९६२) ले साहित्यिक लेखक र कृति बुझ्नका लागि उनीहरूको सपना बुझे पुग्ने कुरा १९३८ मा आगोका विम्ब र रूपउपर लेखिएको La psychanalyse du feu मा बताएका छन् । सपनाको रासायनिकउपर चर्चा गर्दै उनी भन्छन् – जसरी रासायनिक तत्त्वले हाइड्रोजनको अणु हटाएर वा सोसँग गाँसिएर आफ्नो अलग्ग अस्तित्व बनाउँछन् त्यसैगरी सपनाले पनि चारवटा तत्त्वसँग सम्बन्ध राखेर आफ्नो अस्तित्व बनाउँछ । यी तत्त्व हुन् माटो, आगो, पानी र हावा जसका सारभूत देवी वा देवता नोम (gnome), सालाम्यान्डर (salamander), ओन्डिन (ondine) र सिल्फ (sylph) हुन् । यिनीहरूले लेखकको मनोवैज्ञानिक अवस्था वा प्रवृत्तीको संकेत गर्दछन् ।
नोम खँदिलो र पार्थिव छ, सालाम्यान्डर दन्दनाएको आफ्नो ज्वालामा विश्व निल्न सक्षम छ, ओन्डिन निस्तब्ध बग्छे र आफ्नै छायामा मख्ख पर्छे, र सिल्फ सानातिना कुराले नै पनि चंचल छे र प्रकम्पित छे तर आफ्नै हर्षमा हल्का भएर सजिलैसँग अकासिन्छे । यसरी यी चार तत्त्वका सारले लेखकको मनोवैज्ञानिक प्रवृत्ति सङ्केत गर्छन् ।


