२०८औँ भानु जयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली भाषा–साहित्य दिवसका अवसरमा साहित्यसागरले विशेष कविगोष्ठी सम्पन्न गरेको छ ।
भर्चुअल माध्यमबाट असार २० गते तदनुसार जुलाई ४ मा गोष्ठी सम्पन्न गरेको हो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा समालोचक प्रा.डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठीमा करिब तीन दर्जन कविले कविता सुनाएका थिए ।
गोष्ठीमा प्रमुख अतिथि प्रा.डा. त्रिपाठीले प्रकाशित कृतिहरूलाई अनुवाद गरेर विश्वव्यापीकरण गर्नुपर्ने बताए । ‘हामीले नेपालीमा प्रकाशित कृतिहरूलाई अङ्ग्रेजीसहित अन्य भाषामा अनुवाद गरेर विश्वव्यापीकरण गर्नुपर्छ’, उनले भने, ‘नेपाली भाषा र साहित्यलाई जीवन्त राख्न अझ परिस्कृत गर्दै र अनुवाद गर्दै लैजानुपर्छ ।’
प्रधान–सम्पादक मणि नेपाली पनेरूको अध्यक्षतामा सम्पन्न गोष्ठीमा नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले भानुभक्तकाबारे चर्चा गर्नुभएको थियो । त्यस्तै कवि गीता सापकोटाले भानुभक्तीय रचना वाचन गरेकी थिइन् ।
गोष्ठीमा नेपाल, भारत, अमेरिका, क्यानडालगायत मुलुकबाट सहभागिता रहेको थियो ।