राम लोहनी त्रिभुवन विश्वविद्यालयको भाषाविज्ञान केन्द्रीय विभागका प्राध्यापक हुन् । उनी कुनै विषयवस्तुप्रति गहिरो विचार व्यक्त गर्छन् । पुस्तक पढेर पाठकीय प्रतिक्रिया दिन होस् वा समसमयिक विषयमा व्यङ्ग्य गर्न होस् उनी त्यत्तिकै खप्पिस छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनले फेसबुकमा सेयर गरेको एउटा कथा र त्यससँग मिल्दो सन्दर्भ प्रस्तुत गरिएको छ । त्यस सामग्रीलाई यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ । – सम्पा. |
पहिला एउटा कथा
एउटा गाउँमा कुनै समय घोडाको पुच्छरको बारेमा एउटा विश्वास थियो। घोडाको पुच्छर घरमा राख्यो भने भूतप्रेत लाग्दैन, अपशकुन हुन्न आदि। गाउँको एउटा टाठो केटोलाई त्यसप्रति विश्वास थिएन। हर कुरालाई ऊ वैज्ञानिक तर्क र तथ्यसँग जोडेर हेर्थ्यो। विज्ञानप्रति उसको ठूलो विश्वास थियो। पढ्यो, र समयक्रममा देशकै ठूलो वैज्ञानिक बन्यो। देशको राजधानीमा एउटा ठूलो प्रयोगशाला खोल्यो निजी खर्चमा। अन्तर्राष्ट्रिय स्तरका वैज्ञानिक प्रयोगहरू हुन्थे त्यहाँ। एक दिन उसको गाउँको दौँतरी प्रयोगशाला हेर्न आयो। प्रयोगशालाको एउटा कुनामा घोडाको पुच्छर झुन्डिरहेको थियो।
दौँतरी — तपाईँको प्रयोगशालामा घोडाको पुच्छर?
वैज्ञानिक — अँ, भित्ताको त्यो कुना खाली नै थियो।
दौँतरी — यो त अन्धविश्वास भएन र?
वैज्ञानिक — हो, घोडाको पुच्छरले शकुन ल्याउँछ भन्नु अन्धविश्वास नै हो।
दौँतरी — तपाईँलाई विश्वास छैन?
वैज्ञानिक — घोडाको पुच्छरले पनि कहिँ राम्रो, नराम्रो गर्ने, गराउने भन्ने हुन्छ? यस्तो कुरामा मलाई एकरत्ति विश्वास छैन।
दौँतरी — फेरि किन त प्रयोगशालामा यो?
वैज्ञानिक — यसलाई त्यहाँ झुन्ड्याउँदा मलाई केही फरक परेको छैन। म आफ्नो काम गर्छु। त्यो त्यहाँ झुन्डिरहन्छ।
दौँतरी — तैपनि अलि मिलेन कि? तपाईँको ल्याबमा!
वैज्ञानिक — तपाईँको कुरा ठिक हो। तर त्यसले मेरो काममा कुनै अवरोध गरेको छैन। त्यो त्यहाँ झुन्डिदाँ मलाई केही फरक पर्दैन। आखिरमा त्यो कुनो खाली नै थियो। हेर्नुस् त, कोठाको शोभा नै बढाइदिएको छ त्यसले।
दौँतरी — खोइ मलाई त कस्तो कस्तो लाग्यो।
वैज्ञानिक — तपाईँलाई त्यस्तो लाग्नु ठिक हो। तर पनि हुँदा र नहुँदा उस्तै हुने भएपछि भएर पो के बिगार हुन्छ र?
——
अब एउटा तथ्य
भारत र चीनबीच सीमा विवाद थियो। अझै पनि सल्टेको छैन। भारतका प्रधानमन्त्री नेहरु र चीनका प्रधानमन्त्री चाउ दुबै समस्या समाधान गर्न उद्दत थिए। पूर्वतिर म्याकमोहन रेखा भनेर १९१४ मा एक प्रकारको सीमा निर्धारण गरिएको थियो। म्याकमोहन लाइन भारतसँगको मात्र नभएर बर्मा (म्यान्मार) सम्म पनि थियो। साम्यावदी चीनले त्यसलाई मान्यता दिएन। पहिलेको च्याङ काइ सेक सरकारले पनि त्यसलाई मान्यता दिएको थिएन। बर्माका तत्कालीन प्रधानमन्त्री उ नु समस्या समाधान गर्न चिन्तित थिए। साम्यवादी चीनप्रति एउटा शंका छँदै थियो। यता नेहरुको विश्वव्यापी चर्चा चुलिँदै थियो। उ नुलाई नेहरुसँग सल्लाह गर्ने विचार आयो। नेहरुले नुलाई वार्ताबाट समस्या समाधान गर्न सल्लाह दिए। नेहरूले प्रष्ट रूपमा आफैले चीनसँग प्रस्ताव राख्न र केही लेनदेन गरेरै भए पनि समस्या समाधान गर्न सल्लाह दिए। नु पेकिङ गए, चाउसँग सोझै प्रस्ताव गरे। वार्ताबाट समस्या समाधान भयो। चीनले म्याकमोहन लाइनलाई नै सीमा मानेर बर्मासँगको सीमा विवाद सल्ट्यायो।
यता नेहरु चाहिँ चीनसँग सीमा समस्या उल्लेखै गर्न चाहन्नथे। चीनको दृष्टिकोण प्रष्ट थियो। तर नेहरु चीनसँग सीमा विवाद छैन भनेर तर्क गरिरहन्थे सार्वजनिक रूपमा। महत्वपूर्ण वार्तामा पनि नेहरु सीमा विवादको विषयलाई छलफलमा ल्याउन चाहन्नथे। तर सीमा विवाद चर्किँदै गयो। चीनले लद्दाखपट्टि अक्साइ चीनमा बाटो बनायो। नेहरुले विवादित क्षेत्र भने पनि भारतकै नियन्त्रणमा रहेको उक्त क्षेत्रमा नौ वर्षदेखि चीनले बाटो बनाउँदै गर्यो। उक्त क्षेत्रमै १२० किमी बाटो पर्यो। तर भारतले औपचारिक रूपमा थाहा पाएन। पछि चीनले बाटो बनाएको घोषणा गर्यो। भारतका नौजना सिपाहीलाई उक्त क्षेत्रमा एम्बुसमा पारेर मार्यो। केहीलाई पक्राउ गरेर भारत फिर्ता गर्यो। भारततर्फ अरू पनि हताहत भए। चीनले सीमा अतिक्रमण गरेको भनेर उक्त कारवाही गरेको थियो। उक्त क्षेत्र भारतले आफ्नो दाबी गरिरहेको थियो। खासमा भारततर्फबाट त्यो क्षेत्रमा पुग्ने सहज बाटो नै थिएन।
भारतको संसदमा हंगामा भयो। नेहरुप्रतिको विश्वासमा शंका पैदा भयो। माउन्टब्याटन, आइजनहावेरहरूले नेहरुको प्रशंसा गरिरहेका थिए। नेहरुकै सल्लाहमा बर्माले चीनसँगको सीमा समस्या सल्ट्यायो। तर भारतको समस्या उत्तरोत्तर बल्झिँदै गयो। ख्रुस्चेभले भारतलाई बर्मालाई दिएको सल्लाह आफूले पनि प्रयोग गर्न सुझाव दिए। चाउले घुमाउरो भाषामा म्याकमोहन रेखालाई मान्यता दिने बताइसकेका थिए। लद्दाख, कश्मिर क्षेत्रमा पनि वार्ताबाट समस्या समाधान गर्न सकिने बताएका थिए। तर भारतले कहिल्यै वार्ता गर्न चाहेन। नेहरुको आफै प्रस्ताव नगर्ने हठ थियो। चाउले नै प्रताव गरेर १९६० को अप्रिलमा छ दिन दिल्ली बसेर बिस्तृत वार्ता गरे। म्याकमोहन लाइनलाई समर्थन जनाउन सकिने र त्यसको कारण अरुणाचल प्रदेशको सीमा क्षेत्रको समस्या सल्टिने सङ्केत दिए। अक्साइ चीनपट्टि पनि लेनदेनबाट समस्या समाधान गर्न सकिने चाउले बताए। तर भारत “भारत चीन भाइ-भाइ” भएकोले “चीनसँग सीमा समस्यालाई लिएर युद्ध हुनै नसक्ने” ठोकुवा गरेर बसिरह्यो। र, अन्तमा १९६२ मा चीन भारत युद्ध भै छाड्यो। सीमा समस्या अझै पनि बेला बेलामा बल्झिरहन्छ।
मोरल — उपदेश दिन र ज्ञान बाँड्न जति सजिलो हुन्छ, आफूले लागू गर्न त्यति नै गारो हुन्छ।