- सम्पादकीय
नेपाली साहित्यमा बालकृष्ण सम, विश्वेश्वरप्रसाद कोइराला, शिवकुमार राईको निधन एकै दिन साउन ६ गते भएको इतिहास छ । त्यस इतिहासमा आज अहिले नेपाली साहित्य र कलाक्षेत्रका प्राज्ञिक व्यक्तित्व चित्तरञ्जन नेपालीको पनि निधन भएको छ । यस आधारमा यो दिन अझ कालो र औँसीको दिन बनेको छ । साहित्यसागरको प्रस्तुत अङ्क यी चारै जना स्रष्टाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
नेपाली साहित्य परम्परामा बालकृष्ण सम विशिष्ट दार्शनिक प्रतिभा हुन् । उनको कलम नाटक, कविता, आख्यान, निबन्ध जस्ता चारैवटा विधामा चलेको छ र उनी बढी नाटककार र कविका रूपमा सुपरिचित छन् । उनको देहावसानपछि उनी जतिकै विशिष्ट अर्को नाटककार नजन्मिएको तीन दशक बितिसकेको छ । उनका कविता र दार्शनिक निबन्धहरू पनि नेपाली समाजको तत्कालीन बौद्धिक उचाइका अग्ला चुलीहरू हुन् । उनका कृतिको गहन अध्ययन हुन सके र तिनलाई अनुवादका माध्यमबाट विश्व बजारमा पुर्याउन सके नेपाली शिर अग्लो हुनेमा कुनै शङ्का छैन । उनका कविता र नाटक दार्शनिक चेतना र कलाका संयोजनले उच्च छन् । विश्वसाहित्यलाई देखाउन लायक सिर्जनाका रूपमा स्थापित छन् ।
विश्वेश्वरप्रसाद कोइराला नेपाली आख्यान क्षेत्रका विशिष्ट प्रतिभा हुन् । उनका आत्मकथा, निबन्ध र लेख रचनाहरू पनि त्यत्तिकै विचारोत्तेजक र बहुउपयोगी छन् । आज उनको राजनीतिक आस्था र निष्ठाका साथै साहित्यिक यात्राको उत्तरोत्तर विकास हुन नसक्ता नेपाली जाति टाक्सिएर बसिरहेको छ । विश्व समाजमा पछाडि परिरहेको छ । उनका विषयमा विविध विद्यावारिधि भए पनि उनका विचारको अनुशरण र उनले अगाडि सारेका राजनीतिक मुद्दाहरूको अनुशरण हुन नसक्ता नेपाली समाज पछाडि परिरहेको छ ।
शिवकुमार राई प्रवासी नेपाली साहित्यकारहरूमध्ये विशिष्ट साहित्यकार हुन् । उनका बहुविधाका बहुविध कृतिहरू प्रकाशित छन् । उनको योगदानले नेपाली साहित्यको आख्यान, नाट्य र कविता विधासमेत लाभान्वित छ । उनी मूलतः कथाकार हुन् । उनका कथाका पात्रहरू समाजका विविध चरित्र र स्वभावका व्यक्तिहरूबाट निकै जीवन्त रूपमा टिपिएका छन् । उनका कथाहरूमा चोर, साधु, फटाहा, ठग, महात्मा, सन्यासी, धनी, गरिब सबै किसिमका मानिसको प्रतिनिधित्व छ । उनका प्रत्येक कथामा समाजको एउटा यथार्थ पक्षको जीवन्त चित्र पढ्न पाइन्छ । उनका कथाले हाम्रो समाजका विविध पक्षहरूलाई समेटेका छन् । प्रायः सामाजिक, आर्थिक परिस्थितिका बोझले थिचिएका, पिरोलिएका, शोषित, पीडित सर्वसाधारणलाई मुख्य पात्रका रूपमा चुन्ने राई निमुखा जनताका अन्तरकुन्तरमा रहेका विरह र वेदनालाई सफल रूपमा कथाका वान्कीमा प्रस्तुत गर्छन् । उनका कथाकृतिको जेजति अध्ययन अनुसन्धान हुनुपर्ने हो त्यति हुन सकेको छैन ।
चित्तरञ्जन नेपाली नेपाली साहित्य, इतिहास र कलाका क्षेत्रमा समानान्तर योगदान गर्ने विशिष्ट प्राज्ञिक प्रतिभा हुन् । उनको खास नाउँ नारायणप्रसाद राजभण्डारी हो । उनलाई सामाजिक शास्त्र विषयमा जनरल भीमसेन थापा र तत्कालीन नेपाल ग्रन्थका लागि ‘मदन पुरस्कार २०१३’ बाट सम्मानित गरिएको थियो । उनको नाम नेपाली साहित्य एवम् वाङ्मयिक जगत्मा पहिलो मदन पुरस्कार पाउने प्रतिभाका रूपमा पनि सुपरिचित छ । त्रिचन्द्र कलेजमा आईए गरेपछि उनको पढाइ छुटे पनि त्यसपछि प्राइभेट जाँच दिएर इतिहासमा स्नातकोपाधि लिएर निरन्तर स्वअध्ययन र साधनामा रहेका नेपालीको नेपाल-चीन सिमाना सन्धि पुस्तक निकै चर्चित छ । नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानमा प्राज्ञ सदस्यका रूपमा काम गरेका नेपाली पछिल्लो समयसम्म आजीवन सदस्य थिए । उनको बहुभाषिक ज्ञान नेपाल भाषाको उपन्यास गंकीको नेपालीमा, संस्कृत नाटक मुद्राराक्षस र स्वप्नवासवदत्ताको नेपाली र नेपाल भाषाका साथै जापानी समालोचनाको अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गरेबाट बुझिन्छ । उनका इतिहास र साहित्यमा झन्डै दुई दर्जन पुस्तक प्रकाशित छन् । उनका श्री ५ रणबहादुर शाह व्यक्तित्व र शासनकाल, राणाशाहीको रोलव्यवस्था र धर्मपत्रहरू, पारिवारिक षड्यन्त्रका कथाहरू उल्लेख्य कृति हुन् । उनको पछिल्लो पुस्तक जंगबहादुरको कथा पनि त्यत्तिकै चर्चित छ । उनले नाटकको अभिनयसँगै अभिनेताको भूमिका पनि गरेका थिए । बहुलाकाजीको सपना नाटकमा बहुलाकाजी बनेर, रणबहादुर शाह नाटकमा त्रिभुवन काजी भएर अभिनय गरेको इतिहास नेपाली रङ्गमञ्चको परम्परामा सुरक्षित छ । केही नाटक निर्देशन गरेको र केही नाटकमा महिला कलाकार भएर खेलेको इतिहास पनि छ । उनको निधनले नेपाली साहित्य, इतिहास, समाजशास्त्र र कला क्षेत्रमा ठुलो क्षति भएको छ ।
उक्त चारै जना प्रतिभाको निधन साउन छ गते हुनु एउटा संयोग होला । यस दिनले ती प्रतिभालाई गुमाउँदा नेपाली साहित्य, कला र इतिहासका क्षेत्रमा भने ठुलो क्षति भएको छ । सम, कोइराला, राई र नेपालीमा हार्दिक श्रद्धाञ्जली ।
-सम्पादक