डा. अमर कार्की रिसर्च साइन्टिस्टको विशेषज्ञता रहेर र विदेशमा रहेर पनि साहित्य सेवामा समर्पित प्रतिभा हुन् । नेपालको ठेचो ललितपुरमा जन्मेका कार्की अहिले वेस्टपाम बिच, फ्लोरिडा अमेरिकामा बसोबास गर्छन् । रिसर्च साइन्टिस्ट पेसामा संलग्न कार्की अन्तराष्ट्रिय नेपाली साहित्य समाज, फ्लोरिडा च्याप्टरसँग पनि सम्बन्धित छन् । उनका विभिन्न लेख, गजल, मुक्तक र कविता पत्रपत्रिकामा नियमित रूपमा प्रकाशित भइरहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको तिम्रो याद बोलको गजल रचना समेटिएको छ । यस रचनाले प्रेमको वियोगजन्य अनुभूतिलाई निकै विम्बात्मक रूपमा प्रस्तुत गरेको छ । -सम्पा. |
तिम्रो याद नआउने कुनै प्रहर भएन
तिम्रो निशान नभेटिने कुनै शहर भएन
यो मन भयो अस्थिर तिमी बिना यहाँ
त्यता बगाई ल्याउने कुनै लहर भएन
गयौ टाढा निष्ठुरी तिमी माया मारेर
म सङ्ग त माया मार्ने कुनै जहर भएन
तिमी भन्थ्यौ काली गए गोरी आउछन
तर खै त मलाई त्यस्तो कुनै रहर भएन
सुन्दर सपनाको संसार देखाएर गयौ
खै त हाम्रो सपना सजाउने घर भएन
जे सोच्यो त्यो भएन जे देख्यो त्यो रहेन
अब त यीआँखाहरूको पनि भर भएन
तिमी थियौ र जिबन जिउने रहर थियो
बाच्ने आधार नहुदा मृत्युको डर भएन ।
(फ्लोरिडा)