इन्दिरा गौतम (असाम, भारत) को परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी भारतको असममा रहेर नपाली भाषासाहित्यको सेवा गरिरहेकी प्रतिभा हुन् । प्रस्तुत शृङ्खलामा उनको गुमानेको सजाय शीर्षकको लघुकथा समेटिएको छ । यस रचनाले समाजमा विद्यमान विवाहसम्बन्धी गलत धारणाको विरोध गरेको छ । -सम्पा. |
चमेली र हर्कबहादुरको गहिरो प्रेम थियो। दुवैले मायाको पवित्र बन्धनलाई कहिले नचुँडिने गरी कसेका थिए । यो कुरा चमेलीका आमाबाबुलाई थाहा भयो । यसले हर्कबहादुरका घरसँगको पुरानो दुस्मनीले फेरि जीवन पायो । चमेलीका बाबुआमा छोरी दिन असमर्थ भए ।
यता हर्के र चमेली छुटिने अवस्थामा थिएनन् । हर्के बिहे गर्न नपाए भगाएर लान्छु भन्दै थियो । ऊ हैसियत बनाउन पैसा कमाउन सहर गयो । त्यसै बेला बाबुआमाले चमेलीको बिहे जबर्जस्ती गुमानेसँग गरिदिए ।
गुमाने गाउँको सोझो सिधा र इमानदार केटो थियो । उसले चमेली जस्ती राम्री र धनी घरकी केटीसँग बिहे गर्ने कुरा सपनामा पनि सोचेको थिएन । दाइजोमा धेरै सम्पत्ति पाउने कुरा उसका कानमा नपरेको पनि होइन । तर उसलाई दाइजोको कुनै लालच थिएन । ऊ राम्री केटी पाउने कुरामै खु:सी थियो ।
बिहेको दिनसम्म चमेलीले हर्केको बाटो हेरिरही । न ऊ आयो नत उसको चिठी पत्र नै आयो । चमेली दुःखी मनले गुमानेकी बेहुली बन्न बाध्य भई । बाबुआमाले धुमधामसँग बिहे गरिदिए ।
बिहे भएको एक महिना नहुँदै चमेली बारीको पाटामा पासो लागिछ । गाउँका सबैले उसको श्रीमान् गुमाने र सासूलाई दोषी ठाने । गाउँमा भए नभएका कुरा फिँजिए । ’चमेलीको हत्या कि आत्महत्या ? दाइजो कै कारण चमेलीको हत्या – – सासू र लोग्नेमाथि आशङ्का’ । नानाथरीका शंका उपशंका ।
भने जति दाइजो नपाएर बुहारी माथि अत्याचार गरेको भन्ने रिपोर्ट दाखिल भयो । गुमानेका आमा छोराका फोटा सहितको समाचार देशव्यापी भाइरल बन्यो। मझेरीमा बसेर भक्कानिइरहेको गुमानेका मनमा ठुलो ठेस लाग्यो । पुलिस र रिपोर्टरका प्रतिप्रश्नमा माघे जाडोमा पनि गुमानेको शरीर पसिनाले निथ्रुक्क भिज्यो ।
चमेली हर्केलाई मनपराउँछे भन्ने कुरा गुमानेलाई राम्ररी थाहा थियो । तर एउटी विवाहित नारीको परपुरुषसँग बदनाम हुनु, उनीहरूको अस्मिता माथि खेलबाड गर्नु भन्दा आफूले नै सजाय भोग्नु उचित ठान्यो । ऊ जेल गयो ।
निर्दोष मान्छे जेल जाँदा सबैले दोषी ठानेका थिए । केही दिन ढिलो गरी आएको पोसमार्टम रिपोर्टले उसको सजाय माफी गरिदियो ।