त्रिलोचन ढकाल राजनीतिज्ञ एवम् साहित्यकार हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा प्रस्तुत गरिसकिएको छ । यहाँ उनको मिथक शीर्षकको लघुकथा समेटिएको छ । यस कथाले अन्धविश्वासको विरोध गर्दै मिथकको परिचय पनि दिएको छ । कोरोना कालको परिवेशलाई समेटेर तयार पारिएको यस कथाले मानवताको सन्देश पनि दिएको छ । -सम्पा. |
रविन्द्र केसी क्याम्पस प्रमुख थिए । उनी आफ्नो विषयमा सुयोग्य पनि थिए । यसले गर्दा उनलाई घमण्डरूपी कालो बादलले छोपिरहन्थ्यो। उनले कलेजका मातहतका कर्मचारीलाई गोठालो जस्तै व्यवहार गर्दथे । उनीसँग कलेजका उपप्राध्यापकहरू कालु, मालु र मधु सबै असन्तुष्ट थिए। उनले आफ्ना भाइहरूलाई पनि अवहेलना गर्दथे।
पशुपति र कृष्णका भक्त थिए उनी। ती दुईको सेवा गरेपछि मानवशत्रु, रोगलगायत जस्तासुकै कारणद्वारा जन्मिएका समस्याको सागरबाट सजिलै पार हुन सकिन्छ भन्ने विश्वासमा थिए उनी।
कोरोनाले रवीन्द्रलाई पनि बाँकी नछोडे जस्तो लाग्न थालेको थियो। टाउको दुख्थ्यो। रुघा लाग्यो। सास फेर्न सकस हुन थाल्यो। अस्पताल जानुपर्ने ठाने उनले। अस्पतालमा लगिदिने भने कोही थिएन। एक्लै अस्पताल जान भनेर घरबाट प्रस्थान गरे। सडक किनाराको प्रतीक्षालयमा गएर गाडी कुरिरहे।
कोरोना कहरका कारणले निषेधाज्ञा जारी थियो। गाडी आउने जाने गरेका थिएनन्। घाम उकालोतिर गएको देखिने बेलासम्म प्रतीक्षालयको काखमा सुतिरहनु परेको थियो उनलाई।
अपरान्हतिर कलेजका साथीहरू कालु, मालु र मधु त्यहीँ बाटो आएका थिए। रवीन्द्रले आफूलाई अस्पताल पुर्याइदिन अनुरोध गर्नु स्वाभाविक थियो । उनीहरूले अनुरोधलाई ठाडै अस्वीकार गरे अनि आफ्नो बाटो समाए। दाजुभाइहरू पनि देखिएका थिए। उनीहरू ‘कोरोना सर्न सक्छ’ भन्दै आफ्नो बाटो लागे । सहयोगीहरू र दाजुभाइलाई डस्नुको परिणाम भोगिरहेका थिए रवीन्द्रले।
साँझ पर्न लाग्दा एक जना भलादमी देखिने मान्छे त्यही बाटो जाँदै गरेका देखिए। रवीन्द्रले चिनेकै मान्छे थिए उनी। उनलाई पनि बोलाएर भने–हेर्नुस् न सर ! मलाई हस्पिटल लगिदिने कोही भएन। मैले पशुपतिमा सुनको जलारी चढाएँ। परिवारसहित गएर पूजाआजा पनि गरेँ। कृष्णपुरीमा राधाकृष्णको मूर्ति स्थापना गरेर पूजा पनि गरेँ। मलाई त उल्टो फल मिले जस्तो भयो।
‘ए ती ! ती त सब मिथक हुन्। विज्ञानले अनुसन्धान गर्दा जसजसका भग्नावशेष भेटिएका छैनन् ती सबै मिथक हुन्। मिथकका पछि लागेर पार लाग्न सकिँदैन सर !’