काठमाडौँ । कवि महानन्द सापकोटाका कविताहरू सङ्कलन गरिएका कवितासङ्ग्रह ‘महानन्द सापकोटाका कविता’ प्रकाशित भएको छ।
सङ्ग्रहमा महेश प्रसाईँले सङ्कलन तथा सम्पादन गरेका सापकोटाका ८० वटा कविता समावेश गरिएका छन् । सङ्ग्रहको प्रकाशन नेपाल प्रज्ञा–प्रतिष्ठानले गरेको हो ।
सङ्ग्रहमा जागरण कालका प्रभावशाली कवि सापकोटाका छरपस्ट रहेका कविता एकत्रित रूपमा राखिएको प्रतिष्ठानले जनाएको छ। सापकोटालाई भाषाशास्त्री, निबन्धकार, कवि एवम् समाजसुधारक रूपमा चिनिएको छ ।
महानन्द सापकोटाको साहित्यिक यात्रा कविता लेखनबाटै आरम्भ भएको थियो । सापकोटाका अपुङ्गो, विशाल नेपाल, अन्नु, आशा, आँशु, हाम्रो नेपाल र आँटे जस्ता मध्यम रूपका काव्यका साथै उनका थुप्रै फुटकर कविताहरू विभिन्न अवस्थामा छरिएर रहेका थिए । सङ्ग्रहमा तिनै कविताहरूको सङ्कलन रहेको छ ।