रमेश शुभेच्छुको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यस शृङ्खलामा उनको एउटा गजल समेटिएको छ । उनको साहित्यिक कृति प्रकाशन यात्रा नै गजल कृतिबाट भएको थियो । यहाँ एउटा जीवन दर्शनलाई समेट्ने गजल समेटिएको छ । यस गजलले जीवनलाई सागर लहर नभई गहिराईसँग तुलना गरेको छ ।
– स
हेर्दा राम्रो भित्र कालो सहर जिन्दगानी हैन
एकै छिन खुसी खोज्ने सफर जिन्दगानी हैन
कैले चर्को घाम हुन्छ कैले औँसी रात पनि
कुनै एक पाखो भेट्ने प्रहर जिन्दगानी हैन
उत्साह हो, अमृत हो, मृत भए जीवन कहाँ
अर्कालाई सिध्याउने जहर जिन्दगानी हैन
कोही भन्लान् खु:द सागर कोही भन्लान् सुख सागर
म त गैह्रो देख्छु, सागर लहर जिन्दगानी हैन ।