शेखर कुमार श्रेष्ठ (२०३३ साल, माघ २९, काठमाडौ“को सेतीदेवी गा.वि.स फर्पिङ, सुपुत्रः नारायणबहादुर श्रेष्ठ र म लक्ष्मी श्रेष्ठ) सिर्जना र समालोचनाका क्षेत्रमा परिचित प्रतिभा हुन् । त्रिभुवन विश्व विद्यालयबाट एमए, एमएडका साथै एमफिल गरेका श्रेष्ठ शिक्षण प्राध्यापन पेसामा संलग्न रहनका साथै मूलतः कथा र बालसाहित्य सिर्जना एवम् भाषा विज्ञान र समालोचनामा रुचि राख्छन् । उनको सगरपुर २०६०, कथासङ्ग्रह), पूर्णिमाको रात्रि (बालकविता), हाम्रो माध्यमिक निबन्ध माला (सहलेखन २०६८), हाम्रो निम्नमाध्यमिक निबन्ध (सहलेखन २०६८), साना कक्षाका निबन्ध (सहलेखन २०६८), पूर्णिमाको राती (बालकवितासङ्ग्रह, सहलेखन २०६९), धन्यवादका पात्र (बालकथासङ्ग्रह,२०७५), कमिलाको जन्ती बालकथासङ्ग्रह (२०७६), हिमालमुन्तिर (बालकवितासङ्ग्रह, २०७६), गोदावरी मेला र दक्षिणकालीका तीर्थ (२०७७) जस्ताकृतिहरू प्रकाशित छन् । श्रेष्ठका मीक्षा र माथिल्लोतहका पाठ्यपुस्तक तर्फ नेपाली भाषाको सिद्धान्त (२०६०, संयुक्त) हाम्रो नेपाली व्याकरण (संयुक्त, २०६२), आधुनिक नेपाली आख्यान र नाटक (२०६६, संयुक्त) भाषा विज्ञानको सिद्धान्त (२०६१) सिद्धिचरणका खण्डकाव्यमा क्रान्तिचेत (२०६९) जस्ता कृतिहरू प्रकाशित छन् । उनको पाठ्यपुस्तक लेखन विद्यालय तहका लागि निकै उपयोगी देखिएको छ । हाम्रो ओसन नेपाली शृङ्खला कक्षा १–७ (सहलेखन २०७२), हाम्रो ओसन नेपाली व्याकरण कक्षा १–१० (सहलेखन २०७२), टाइम्स हाम्रो नेपाली माला, कक्षा १–७ (सहलेखन २०७३), टाइम्स हाम्रो नेपाली व्याकरण, कक्षा १–१० (सहलेखन २०७२), मिठो नेपाली शृङ्खला, कक्षा १–७ (सहलेखन २०७५) जस्ता विविध कृतिको एकल एवम् सहलेखन गरिसकेका छन् । उनको कलम कथा र बालसाहित्यका क्षेत्रमा सफल देखिन्छ । उनको सम्पादन र सहसम्पादमनमा सेतीदेवी स्मारिका (२०६३) सुसेली साहित्यिक पत्रिका (२०६४–२०६६), फर्पिङ जलविद्युत स्मारिका (२०६८), पुष्पवृष्टि प्रवचन (२०७०), फर्पिङ मावि स्मारिका (२०७६) जस्ता पत्रपत्रिका निस्किएका छन् । उनी विभिन्न साहित्यिक सङ्घसंस्थामा रहेर पनि भाषा साहित्यको सेवा गरिरहेका छन् । फर्पिङ उच्च मा.वि र शिखरापुर सामुदायिक क्याम्पस काठमाडौँमा प्राध्यापनरत श्रेष्ठ निरन्तर फुटकर समीक्षा र सिर्जनाका क्षेत्रमा कलम चलाइरहेका कोसाहित्यसागरको प्रस्तुत शृङ्खलामा श्रेष्ठको कोट शीर्षकको लघुकथा समेटिएको छ । यस लघुकथाले आजको पुस्ताले पुर्खाको विरासत पनि थाम्न नसकेको र आफ्नै अस्तित्व पनि जोगाउन नसकेको पक्ष उजागर गरिएको छ । यो कथाले नेपाली बौद्धिक वर्गको आदर्श स्खलनको पक्षलाई निकै जीवन्त रूपमा समेटेको छ ।
–सम्पा.
पिताजीले बादल फट्याएर सोधे, “बाबु ! तिमी अझै नाङ्गो छौ नि । के भयो ?” मरिसकेका पिताजी आएर प्रश्न सोध्दा सुरुमा डराएँ । डराए पनि आफ्नै पिता हुन् भनी मैले जवाफ दिएँ, “पिताजी, तपाईँले सुरुमा दिनुभएको कोट लगाउँदा ह्वाङलाङ्ग भयो । मागेर ल्याएको भन्लान् भनी सूचीकारकोमा लगेर मिलाएँ ।”
“अनि किन त्यो नलगाएको त ?”, पिताजीले सोधे । “सूचीकारले कसिने बनाइदिएछन् । बडो मुस्किलले लगाएको थिएँ तर त्यो फाट्यो ।”
“ठिकै छ । त्यो त मैले मागेर नै ल्याएको थिएँ । अनि दोस्रो कोटचाहिँ के गर्यौ त ? त्यो त मैले मेरै परिश्रमले हालिदिएको थिएँ ।”, पिताजीले फेरि सोधे ।
दोस्रो कोटको एक ठाउँमा पुरानो दाग थियो । तैपनि लगाएर हिँडेको थिएँ । आजको जमानामा पनि पुरानो मोडलको कोट लगाउने हो भन्दै सबैले विरोध गरे । होला नि भनेर त्यसलाई त आफ्नै हातले च्यातचुत पारेर मिल्काइदिएँ ।”
“अनि तेस्रो कोट त तिमी आफैले बनाएको होइन र ?”, पिताजीले फेरि प्रश्न गरे ।
जवाफमा मैले भनेँ, “हो पिताजी, तर त्यो कोटको गलादेखि तलसम्म प्वालैप्वाल छ । त्यो कोटमा छुचुन्द्रोले घर बनाएको छ । त्यसैमा छुचुन्द्रोले पिसाप पनि फेरेछ । त्यसैले कोट मैले लगाउनै सकिनँ । अहिले म नाङ्गो भएको छु ।