पूर्वीय चिन्तक शङ्कराचार्यले गुरुलाई पारशमणिसँग तुलना गर्दै भनेको एउटा अभिव्यक्तिको आशय हो : पारशमणिले फलामलाई सुन बनाउँछ तर पारशमणि नै बनाउन सक्तैन । तर गुरुले अज्ञानीलाई ज्ञानी र गुरु पनि बनाउँछ ।
यो तस्बिरले मलाई बारम्बार शङ्कराचार्यकै कथनको याद गराउँछ । यो तस्बिर गुरु प्रा. दैवज्ञराज न्यौपानेसँगको हो । यो तस्बिर भाइ दिनेशले गुरु निवासमा उहाँका पाण्डुलिपि केलाउने क्रममा खिचेका हुन् । मिति २०६५ सालको हिँउँदको पुस ११ गते साँझको हो ।
गुरु मेरो कक्षाका प्रत्यक्ष गुरु हुनुहुन्थ्यो । उहाँसँग त्रिभुवन विश्वविद्यालयमा भेट हुनुपूर्व नै पत्राचार भएको थियो । कीर्तिपुरमा भेट हुँदा विरानो ठाउँमा एक असल अभिभावक भेटेको जस्तो बोध भएको थियो । उहाँकै सङ्गतले म प्रतिष्ठित संस्था भानुप्रतिष्ठानमा प्रवेश गरेको थिएँ । उहाँसँग कविता पढ्दा कविता कसरी राम्रो बनाउने भन्ने पक्ष पनि बुझेको थिएँ । मैले उहाँकै निर्देशनमा आधुनिक गीतको विकासमा म्युजिक नेपालको योगदान शीर्षकको थेसिस गरेको थिएँ । थेसिस सके लगत्तै उहाँकै संस्थापनको क्याम्पस बानेश्वर क्याम्पसमा पढाउन थालेको थिएँ ।
दैवज्ञ गुरुले मेरो शोध सकिनासाथ यस ठिटालाई आफ्ना किताबको सम्पाद र भूमिका लेखनको जिम्मेवारी दिनुभएको थियो । मैले उहाँका तीनवटा कृति सम्झनाको धरातल, पोल्टाका गीत र घामले ढोकाखोल्यो सम्पादन गरेको थिएँ । आज हेर्दा गुरुले दिएको त्यस जिम्मेवारीलाई सम्पादन के भन्नु सङ्कलन टङ्कण र प्रेससम्म पुर्याउने काम गरेको थिएँ भनौँ । गुरुका ती कृतिमध्ये सम्झनाको धरातल र घामले ढोका खोल्योमा मेरा भूमिका छन् । ती भूमिका मलाई विशेषज्ञ भएकाले नभई मेरो व्यक्तित्व विकास होस् भन्ने कामनाले लेखाइएका थिए भन्ने मलाई बारम्बार लागिरहन्छ । उहाँको त्यही विश्वासका कारण आज म आफ्ना शिष्यशिष्यालाई अधिक विश्वास गर्छु । सिर्जनाको बाटो छोडेर कतै ढल्पलाउन सक्तिनँ ।
यो तस्बिर खिचेका दिन भाइ दिनेश मसँगै गुरुका घरमा गएका थिए । त्यसबेला म आफ्ना भाइबहिनीलाई विस्तारै विशिष्ट व्यक्तित्वहरूसँग भेटाएर केही अभिप्रेरित र बौद्धिक कर्ममा आकर्षित गर्न चाहन्थेँ । त्यसरी मेरा गुरु र अग्रजसँग भेटाएका लामा फेहरिस्त छन् । त्यस बेला हामीले भर्खर एउटा डिजिटल क्यामरा जोड्न सकेका थियौँ । गुरुकामा जाँदा भाइले क्यामरा बोकेका थिए । उनी पत्रकारिताको प्रमाणपत्र तहमा पढ्दै थिए । त्यस दिन हामी गुरुको चौथो कृतिको तयारी हुँदै थियो । उहाँ पक्षघाटबाट पीडित हुँदा उहाँका अक्षर बुझिँदैन थियो उहाँले भन्नु पनि पथ्र्यो । उहाँको बोली पनि पूर्ण रूपमा बुझिँदैन थियो । मैले उहाँका विषयमा दैवज्ञराज न्यौपाने : व्यक्तिकृति र अभिनन्दन शीर्षकको कृति मेरा अरू दुई गुरुहरू प्रा.डा. वासुदेव त्रिपाठी र प्रा. केसव सुवेदीसँग सहलेखनमा लेखिसकेको छु । गुरुसँगका स्मृतिका विषयमा ‘उहाँ अर्थात्…’ शीर्षकको लामो संस्मरण शब्दाङ्कुर पत्रिकामा प्रकाशन गरिसकेको छु । उहाँको जीवनी र कृतित्वका बारे धेरै ठाउँ बोलिसकेको छु ।
दैवज्ञ गुरुले म जस्तो सामान्य शिष्यलाई धेरै दिनुभयो । म उहाँलाई केही दिन सक्ने भएकै थिइनँ र अझै छैन । आज पनि दैवज्ञ गुरु हामीमाझ हुनुहुन्न भनेर लेख्न हात लागिरहेको छैन ।
-रमेश शुभेच्छु